प्राथमिक आँखा उपचार सेवालाई स्थानीय तहसम्म पु¥याउँदै कर्णाली सरकार


सुर्खेत । कर्णालीमा मध्यम स्तरको आँखा उपचार सेवा विस्तारमा प्रगति भएपनि प्राथमिक आँखा उपचार सेवामा प्रगति हुन सकेको छैन ।
प्रदेश सरकारले उच्च तथा मध्यम स्तरसँगै अब प्राथमिक तहको आँखा उपचारमा समेत ध्यान दिन शुरु गरेको छ । सुर्खेतको वीरेन्द्रनगर आईतबारदेखि शुरु भएको दुई दिने ‘स्वास्थ्यकर्मीहरुका लागि आधारभूत आँखा उपचार तालिम’ को उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी सुर्खेंतका सभापति रामलाल आचार्यले आँखाको प्राथमिक उपचार नपाएर आँखा नै गुम्ने तथा गम्भीर अवस्थामा अस्पताल पुग्ने दरलाई कम गर्न प्राथमिक उपचार तालिम महत्वपूर्ण हुने बताए ।
उनले कर्णालीमा समेत मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण हुने अन्धोपन, जलविन्दु, रेटिनासम्बन्धी समस्याहरु क्रमसः वृद्धि हुँदै गएको जनाए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका कोषाध्यक्ष कुमार ढकालले प्राथमिक आँखा उपचार सेवा प्रभावकारी बनाउनका लागि सरकारले पाँच वर्षे ‘राष्ट्रिय आँखा स्वास्थ्य रणनीति’ बनाएको बताए ।

उनले स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीलाई प्राथमिक आँखा सेवा सम्बन्धी तालिम उपलब्ध गराउने सरकारी नीति अनुरुप नै दुई दिने तालिम आयोजना गरिएको जनाए । सुर्खेत आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डाक्टर आकांक्षी रानाले आँखा सम्बन्धी प्राथमिक समस्या भएका कतिपयलाई सही तरिकाले प्राथमिक उपचारबारे जानकारी नहुँदा आँखा गुमाउनुपर्ने अवस्था समेत रहेको बताईन् ।
उनले प्राथमिक उपचारपछि त्यहाँ उपचार गर्न सम्भव नभएका केसलाई नेत्र विशेषज्ञ समक्ष रिफर गरी रोग पहिचानपछिको उपचारले ज्योति गुमाउनबाट बचाउन सकिने जनाईन् ।

‘मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुका कारण हुने अन्धोपन, जलविन्दु, रेटिनासम्बन्धी समस्याहरु क्रमः वृद्धि हुँदै गएको छ,’ उनले भनिन्, ‘आँखामा प्राथमिक खालका समस्या हुँदा आँखा रातो हुने, बिझाउने, दुख्ने, दृष्टिमा कमी हुने, पानी बग्ने, सुन्निने, पोल्ने, आँखा खोल्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् ।’

उनले यस्ता खालका समस्यालाई सामान्य ठान्दा र उपचारको पहुँचमा नपुग्दा आँखामा गम्भीर खालका समस्या देखिने गरेको बताईन् । यिनको प्राथमिक उपचार गर्न सकिने उनको भनाइ छ । यस्तै, मधुमेह, उच्च रक्तचाप भएका बिरामीले ६/६ महिनामा अनिवार्य रुपमा आँखा परीक्षण गर्नुपर्छ ।
मधुमेह, उच्च रक्तचाप भएको थाहा नपाउँदा समेत दुर्गम भेगका बासिन्दामा आँखामा विभिन्न खालमा समस्या उत्पन्न हुनेगर्छ । तालिमा सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको गुराँस गाउँपालिका २९ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको सुर्खेत आँखा अस्पतालका प्रबन्धक घनबहादुर थापाले बताए ।
उनका अनुसार तालिमको सहजीकरण सुर्खेत आँखा अस्पतालका डा. आकांक्षा राना, ओपीडी इन्चार्ज अरुणकुमार गुप्ता, नेत्र सहायक फहिम खानले गरिरहेका छन् । सुर्खेत आँखा अस्पतालको समन्वयमा शुरु भएको तालिमलाई क्योर ब्लाइन्डनेस प्रोजेक्ट र तिलगंगा आँखा अस्पतालको आर्थिक सहयोग रहेको छ ।


