कर्णालीलाई इन्धनमा विशेष सहुलियत दिनु पर्छ : अध्यक्ष घिसिङ

सुर्खेत । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कर्णालीको विशेष भूगोललाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थमा छुट दिन सरकारसँग माग गरेका छन् ।

आज कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रममा भाग लिन सुर्खेत आईपुगेका अध्यक्ष घिसिङले कर्णालीको विशेष भूगोललाई ध्यानमा राख्दै इन्धनमा भएको मूल्यवृद्धिमा विशेष सहुलियत दिनुपर्ने बताएका हुन् ।

कर्णालीमा विकट भूगोल भएकाले आफैंमा खर्चिलो भएको भन्दै उनले बाह्य तथा आन्तरिक पर्यटकको यात्रा तथा आवागमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा विशेष छुट दिन माग गरे ।

अध्यक्ष घिसिङले छिमेकी भारतले पनि इन्धनमा मूल्यवृद्धि नगरेको भन्दै यसमा सरकारले नागरिकमाथि मूल्यवृद्धिको भार घटाउनुपर्छ र स्तरीकरण गर्न सुझाव दिए ।

दुईतिहाइको सरकारलाई काम गर्ने वातावरण सहज बनाउन सहयोग गर्ने बताउँदै अध्यक्ष घिसिङले नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’ का लागि करिब ३५ अर्ब लगानी सुनिश्चित गरिएको जानकारी दिए ।

उनका अनुसार अहिले १३२ केभी विद्युत प्रसारणलाइनको काम सुर्खेतदेखि जुम्लासम्म भइरहेको छ ।

Translate »