भोलीदेखि शुरु हुने कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी हुँदै


सुर्खेत । भोलीदेखि सञ्चालन हुने माध्यमिक शिक्षा उत्तीर्ण कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार बढी परीक्षार्थी सहभागी हुँदै छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षाको सम्पूर्ण तयारी पुरा भएको बोर्डको सुर्खेत स्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष कर्णालीका ८ जिल्लाबाट २४ हजार ४ सय १७ जना विद्यार्थी सहभागी हुने छन् ।
आठ जिल्लाका २ सय ९६ वटा विद्यालयका लागि ९० वटा परीक्षा केन्द्र कायम गरिएको कार्यालयको भनाइ छ । रुकुम पश्चिम र सल्यान जिल्लालाई बोर्डको दाङ कार्यालय हेर्ने हुँदा सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लाका परीक्षा केन्द्रको व्यवस्थापन सुर्खेत स्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले नियमन तथा निर्देशन गर्नेछ ।
कर्णालीबाट यस वर्ष नियमित तर्फ १७ हजार १ सय २५ जना र आंशिक तर्फ ७ हजार २ सय ९२ जना परीक्षार्थी सहभागी हुने सुर्खेत स्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख महेश देवकोटाले जानकारी दिए । उनले यस वर्ष सबै भन्दा धेरै सुर्खेतबाट ८ हजार १ सय ११ जना र सबैभन्दा कम डोल्पाबाट ६ सय ६ जना परीक्षार्थी सहभागी हुने बताए ।

उनका अनुसार गतवर्षको तुलनामा यो वर्ष करिब ७ हजार विद्यार्थी घटेका छन् । गत वर्षसम्म पुरानो कोर्ससहितका ३१ हजार विद्यार्थी सहभागी थिए । यो वर्षदेखि पुरानो कोर्सबाट परीक्षा दिने अवसर सकिएकाले विद्यार्थीको संख्या घटेको उनको भनाई छ ।
उनले परीक्षा सम्पन्न गर्न ९० जना केन्द्राध्यक्ष, १ सय ८० जना सहायक केन्द्राध्यक्ष, ६ सय १२ जना निरीक्षक, ९० जना कर्मचारी, १ सय ८० जना सहयोगी कर्मचारी र ९ सय सुरक्षाकर्मी परिचालन हुने बताए । बैशाख २७ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने तालिका यस अघि नै सार्वजनिक भइसकेको उनको भनाइ छ ।
परीक्षालाई मर्यादित, व्यवस्थित, शान्तिपूर्ण एवं भयरहित तवरले सम्पन्न गर्न गराउन सम्पूर्ण सरोकारवालामा सहयोग र समन्वयका लागि उनले अपिल समेत गरेका छन् ।

