

वीरेन्द्रनगर । सुर्खेत प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दैलेखका दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–५, का २७ वर्षिय भुपेन्द्र शाही र सोही पालिकाका–६, का ३० वर्षिय भिमबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरु शुक्रबार पक्राउ परेका हुन् ।
अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा सोधपुछ गर्दा भूपेन्द्र शाहीले आठबीस नगरपालिका–४ राकम खोलीबजार नजिकै खोल्सामा पेस्तोल लुकाइछिपाइ राखेको बताएका थिए । प्रहरीका अनुसार उनीहरुविरुद्ध भदौ २२ गते प्रहरी हवल्दार कृष्णबहादुर रानासमेतको प्रतिवेदन जाहेरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो ।

सोही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक कृष्ण चन्द्रको कमान्डमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय राकम (दैलेख) लाई समेत साथमा लिएर खोजतलास गर्दै जाँदा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको अटोमेटिक (स्वचालित) पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोली खोल्साको झाडीमा कालो प्लास्टिकभित्र पोका पारेर लुकाइराखेको अवस्थामा फेला पारेको हो ।
घटनामा संलग्न दुबैलाई नियन्त्रणमा लिएर हातहतियार खरखजाना कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) कविन्द्रसिंह बोहराले जानकारी दिए ।












