२०८३ भदौ ३१ , बुधबार
Sky News Nepal
September 16, 2026

भारतमा प्रवासी नेपाली समुदायको तीज : ‘कार्यक्रम नगर्नू’ भन्ने कि ‘कार्यक्रमलाई सहयोग अभियानमा बदल्नू’ ?



भारतमा समेत यस वर्षको तीजमा दिदीबहिनीहरु रौनकतामा होइन, मानिसका पीडामा मलम लाउन जुटेको देखियो । तीज भन्नासाथ भारतमा क्रियाशील प्रवासी नेपालीहरुका विभिन्न संघसंगठनमा आवद्ध चेलीबेटीले संयुक्तरुपमा दर खाने, नयाँ लुगा लगाउने, जम्मा भएर नाचगान गर्ने र सुखदुःख साटेर रमाइलो गर्ने गर्दथें ।

भारतका विभिन्न स्थानमा नाचगान गर्ने महिलाको भीडले पर्वको रौनक बढाउँथ्यो । तर, यस पटक भोटेकोशी बाढीपीडितप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै भारतमा रहेका नेपाली समुदायले देखाएको यो व्यवहारले सामूहिक दायित्व र व्यक्तिगत आस्थाबीचको सुन्दर सन्तुलनलाई झल्काउँछ ।

प्रवासी नेपालीका विभिन्न संघसंगठनहरूले संस्थागत रूपमा तीजका ठूला, भड्किला वा सार्वजनिक कार्यक्रमहरू रद्द गरेर वा सामान्य रुपमा मनाएर बाढीपीडितहरूको दुःखप्रति सहानुभूति प्रकट गरे । यसले प्रवासी नेपालीहरू देशमा परेको विपत्तिप्रति कति संवेदनशील छन् भन्ने देखाउँछ । केहीले तीजको उत्सवलाई अर्थपूर्ण बनाएका थिए भने, केहीले संस्थागत उत्सव रोकेपनि व्यक्तिगतरुपमा सबैले तीज मनाउनुले सांस्कृतिक परम्परा, व्रत र पारिवारिक आस्थाको महत्वलाई दर्साउँछ ।

परिस्थिति जस्तोसुकै भए पनि आफ्नो संस्कारलाई जीवित राख्ने यो एउटा मानवीय स्वभाव हो ।  विपत्तिका बेला फजुल खर्च वा भड्किलो प्रदर्शन रोकेर पीडितको घाउमा मलम लगाउन खोज्नु र आफ्नो संस्कृतिलाई पनि जोगाइराख्नु निकै सह्रानीय कार्य हो ।

एउटा कार्यक्रमले उठाएको ठूलो प्रश्न

प्रवासी नेपाली संघ (भारत) पूर्वी नगर समितिको यो कार्यक्रम एउटा सामान्य तीज कार्यक्रम मात्र रहेन । यसले विपत्तिको समयमा सामाजिक तथा राजनीतिक संगठनहरुको भूमिका कस्तो हुनुपर्छ भन्ने महत्वपूर्ण बहससमेत जन्माएको छ ।  दुःखमा कार्यक्रम नगर्नु संवेदनशीलताको एउटा रूप हुन सक्छ । तर कार्यक्रमलाई नै राहत संकलनको माध्यम बनाउनु अझ परिणाममुखी संवेदनशीलता हुन सक्छ ।

यदि कुनै कार्यक्रमका कारण पीडितका लागि एक रुपैयाँ पनि संकलन हुँदैन भने त्यसलाई स्थगित गर्नु स्वाभाविक हुन सक्छ ।  तर त्यही कार्यक्रमबाट पीडितका लागि आर्थिक सहयोग जुटाउन सकिन्छ भने कार्यक्रमको स्वरूप परिवर्तन गरेर त्यसलाई सेवामुखी बनाउन किन नहुने ? पूर्वी नगर समितिले यही प्रश्नको व्यवहारिक उत्तर दिएको देखिन्छ ।

करोडौं संकलन हुन सक्थ्यो कि !

प्रवासी नेपाली समुदायमा विभिन्न राजनीतिक तथा सामाजिक संगठनका सयौं स्थानीय कमिटी छन् । यदि प्रत्येक स्थानीय कमिटीले आफ्ना नियमित कार्यक्रमलाई केही समयका लागि राहत तथा सहयोग संकलनसँग जोड्ने हो भने सानो–सानो रकमबाट पनि ठूलो आर्थिक स्रोत निर्माण गर्न सकिन्छ ।

एक ठाउँमा भारु २६ हजार १५ संकलन हुनु आफैंमा ठूलो रकम नहुन सक्छ । तर यही भावना सयौं ठाउँमा दोहोरियो भने त्यसको परिणाम करोडौंसम्म पुग्न सक्छ ।

त्यसैले प्रश्न रकमको मात्र होइन, सोचको हो !

विपत्तिको समयमा नेतृत्वले जनतालाई केवल ‘कार्यक्रम नगर्नू’ भन्ने कि ‘कार्यक्रमलाई सहयोग अभियानमा बदल्नू’ भन्ने यहींबाट नेतृत्वको कार्यशैली र सोचको अन्तर देखिन्छ ।

परम्परागत होइन, यथार्थवादी नेतृत्व

राजनीतिक संगठनहरुमा माथिल्लो तहबाट निर्देशन दिने परम्परा पुरानै हो । तर समाज बदलिँदै गएको छ । संकटका प्रकृति बदलिएका छन् । नागरिकको अपेक्षा पनि बदलिएको छ । आजको नेतृत्वले केवल आदेश दिनुभन्दा परिस्थितिको वास्तविकता बुझेर व्यवहारिक समाधान प्रस्तुत गर्न सक्नुपर्छ । दुःखमा दुःखी हुनु मानवीय भावना हो ।

तर दुःखीको दुःख घटाउन केही गर्नु सामाजिक जिम्मेवारी हो । त्यसैले नेतृत्वको मूल्यांकन अब कति निर्देशन जारी भयो भन्ने आधारमा होइन, कति समस्या समाधान गर्न सकियो भन्ने आधारमा हुन आवश्यक छ । पूर्वी नगर समितिले तीजको सांस्कृतिक कार्यक्रमलाई राहत अभियानसँग जोडेर एउटा सानो उदाहरण प्रस्तुत गरेको छ । यो अभ्यास अन्य संगठनले पनि अपनाउने हो भने प्रवासी नेपाली समुदायबाट विपत्तिमा ठूलो सहयोग परिचालन गर्न सकिन्छ ।

अन्ततः प्रश्न एउटै हो—

दुःख देखेर कार्यक्रम रोक्ने नेतृत्व चाहिएको हो कि दुःख देखेर कार्यक्रमलाई नै सहयोगमा बदल्ने नेतृत्वरु समयले अब परम्परागत होइन, यथार्थवादी, वस्तुवादी र परिणाममुखी नेतृत्व खोजिरहेको छ ।

देश विपत्तिमा परेको बेला राजनीतिक विचार, संगठन र गुटभन्दा माथि उठेर पीडितको पक्षमा उभिनु आजको आवश्यकता हो । जहाँ जे कार्यक्रम हुन्छन्, तिनलाई सम्भव भएसम्म राहत तथा सहयोग अभियानसँग जोडौं ।

दुःखमा मौन नबसौं—सक्नेले सहयोग गरौं, अरुलाई पनि सहयोग गर्न प्रेरित गरौं । किनकि विपत्तिमा हाम्रो पहिचान संगठनले होइन, हामीले गरेको सहयोगले देखाउँछ ।

–टेकनारायण पौडेल (दयालु) स्काई न्यूज दैनिकका भारत प्रवास सम्वाददाता हुन् ।

 

प्रकाशित मिति : २०८३ भदौ ३० गते मंगलबार
Translate »