

सुर्खेत । कृषि उत्पादनको मुख्य आधार मानिने परागसेचक जीवहरुको सङ्ख्या तीव्र रूपमा घटिरहेको छ । रासायनिक कीटनाशक औषधीहको अत्यधिक प्रयोगले परागसेचक जीवहरुलाई प्रत्यक्षरुपमा मार्ने वा तिनीहरको प्रजनन क्षमता कमजोर बनाउने हुँदा परागसेचक जीवहरुको सङ्ख्या घट्दै गईरहेको हो ।
घट्दो परागसेचक जीवहरुको सङ्ख्याले खाद्य सुरक्षा र जैविक विविधतामा ठुलो सङ्कट निम्त्याउने जोखिम बढेको विज्ञहरुले बताएका छन् । लिवर्डको ‘परागसेचन परियोजना’ र हेल्भेटास नेपालको ‘इन इलम परियोजना’को संयुक्त आयोजनामा बुधबार वीरेन्द्रनगरमा आयोजित परागसेचनसम्बन्धी सचेतना कार्यशाला गोष्ठीका सहभागी विज्ञ वक्ताहरुले परागसेचक जीवको संरक्षणलाई कृषि नीति र कार्यक्रमसँग जोड्नुपर्नेमा बताएका हुन् ।
उनीहरुले परागसेचक जीवको संख्या निरन्तर घट्दै गएकाले यसको संरक्षण र वृद्धि गर्न तीनै तहका सरकार तथा विकास साझेदारबीच साझा पहल आवश्यक औल्याएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनका उपप्राध्यापक डाक्टर केदार देवकोटाले ‘परागसेचनको महत्व’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कृषि प्रणालीमा परागसेचनको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनका अनुसार परागसेचनको प्रक्रिया अवरुद्ध भएमा हाल भइरहेको करिब ७५ प्रतिशत बाली उत्पादनमा असर पर्न सक्ने र त्यसमा करिब ३५ प्रतिशत मानवले प्रयोग गर्ने खाद्यान्न बाली रहेको जनाए । उनले मानव गतिविधि, जलवायु परिवर्तनलगायतका कारण परागसेचक किराहरुको संख्या तथा विविधता घट्दै गएको बताए ।
उनका अनुसार परागसेचक जीवहरु मध्य मुख्यरुपमा मौरी, पुतली, भमरा, र चराचुरुङ्गी रहेका छन् । कार्यक्रममा नगरपालिका संघ कर्णाली प्रदेशका अध्यक्ष एवं गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले परागसेचकको संरक्षण र वृद्धि सरकारको मात्रै नभई विकास साझेदार तथा समुदायको समेत साझा जिम्मेवारी भएको औल्याए ।


त्यस्तै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा दार्मा गाउँपालिका सल्यानका अध्यक्ष नीमबहादुर केसीले अहिलेसम्म स्थानीय तहबाट परागसेचन संरक्षणका विषयमा पर्याप्त ध्यान पुग्न नसकेकाले आउँदा दिनहरुमा नीति तथा कार्यक्रममै समेट्न आवश्यक रहेको बताए ।
वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायले प्रकृतिबाट निःशुल्क प्राप्त भइरहेको परागसेचन सेवाको संरक्षण गर्न नसके भविष्यमा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिए । उनले परागसेचक प्रजातिको संरक्षण र वृद्धि गर्न राज्यदेखि किसानसम्म सबैले आ–आफ्नो तहबाट इमान्दारीपूर्वक प्रयास गर्न आवश्यक रहेको औल्याए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका योजना महाशाखा प्रमुख तीलकराम पाण्डेले प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम मार्फत परागसेचनसम्बन्धी दश बर्षे रणनीतिक निर्माण गरिरहेको जानकारी दिए । लिवर्डका कार्यक्रमका रणनीतिक संयोजक निराजन पुडासैनीले प्रकृतिबाट निःशुल्क प्राप्त भइरहेको परागसेचन सेवाको संरक्षणमा ढिलैभएपनि महत्व र सान्दर्भिकता बढ्दै गएको बताए ।
उनले परागसेचक जीवको संरक्षणलाई किसानको उत्पादन बृद्धि, वातावरण संरक्षण र खाद्य सुरक्षासँग जोडेर बुझ्न आवश्यक रहेको औल्याए । त्यस्तै हेल्भेटास नेपालको इन इलम परियोजनाका कर्णाली संयोजक टेकबहादुर सिंहले परागसेचनले उत्पादन र वातावरणीय कृषिमा ठूलो योगदान पु¥याउने परागसेचकको महत्वबारे किसान, स्थानीय समुदाय र सरोकारवालाबीच सचेतना विस्तार गर्दै संरक्षणका व्यवहारिक उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
परागसेचक किराहरुले बाली तथा वनस्पतिमा पराग स्थानान्तरण गरी उत्पादन प्रक्रियामा महत्वपूर्ण योगदान पु¥याउने भएपनि कृषि क्षेत्रमा विषादीको बढ्दो प्रयोग, बासस्थान विनाश, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनका कारण उनीहरुको अस्तित्वमा चुनौती थपिँदै गएको विज्ञहरुको भनाइ थियो ।
परागसेचकको संरक्षणलाई वातावरणीय विषयका रूपमा मात्रै नभई खाद्य सुरक्षा, कृषि उत्पादन, किसानको आय र समग्र पारिस्थितिकीय प्रणालीसँग जोडेर हेर्नुपर्ने उनीहरुको भनाइ थियो । विषादीको विवेकपूर्ण प्रयोग, परागसेचकका लागि अनुकूल बासस्थान निर्माण, स्थानीय प्रजातिको संरक्षण तथा किसान र समुदायमा सचेतना विस्तार गर्नुपर्नेमा उनीहरुको जोड छ ।












