२०८३ कात्तिक १८ , मंगलबार
Sky News Nepal
November 3, 2026

सुर्खेतमा राष्ट्रिय युवा सम्मेलन सुरु



वीरेन्द्रनगर । सोमबारदेखि वीरेन्द्रनगरमा तीन दिने युवा सम्मेलन सुरु भएको छ । सम्मेलनको कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले उद्घाटन गरिन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले वातावरण संरक्षणमा युवाको भूमिका महत्वपूर्ण हुने बताइन् । ‘अबका सबै विकास निर्माण र सामाजिक अभियानमा युवालाई केन्द्रमा राख्न जरुरी छ,’ उनले भनिन्, ‘वातावरण संरक्षण र जलवायु न्यायका लागि युवा सहभागिता महत्वपूर्ण छ, जसका लागि एकद्वार नीति बनाएर कार्यान्वयन गरिरहेका छौ ।’

टिडीएच जर्मनीको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास नेपाल), विवाइसी बाग्लुङलगायत संस्थाहरुको आयोजनामा सुरु भएको सम्मेलन बुधबारसम्म चल्नेछ ।

सम्मेलनमा वातावरणीय क्षयीकरण, प्रदूषण, प्राकृतिक स्रोतको अव्यवस्थित दोहन र जलवायु परिवर्तनले मानव स्वास्थ्य, खाद्य सुरक्षा, शिक्षा तथा भावी पुस्ताको भविष्यमा पारिरहेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएको छ । सम्मेलनले वातावरणीय अधिकार र जलवायु न्यायबारे युवाको बुझाइ अभिवृद्धि गर्ने टिडीएचकी प्रतिनिधि एलिजा तुलाधरले बताइन् ।

अन्तरप्रदेश युवा सहकार्यलाई निरन्तरता दिन साझा युवा घोषणापत्र र नीतिगत सिफारिस तयार गरिने आयोजकले जनाएको छ । युवालाई वातावरणीय निर्णय प्रक्रियामा सहभागी गराइ नेतृत्वकर्ताका रूपमा स्थापित गर्न सम्मेलनले सहयोग पु¥याउने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार
Translate »