

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।
अवतरण (ल्यान्ड) गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु हुनुका साथै दुई जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय बसन्तकुमार बालारामाडु रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल र फिस्टेल एयरका पाइलट घाइते भएका हुन् । घाइते दुबैलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
आज बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार










