२०८३ कात्तिक १९ , बुधबार
Sky News Nepal
November 4, 2026

एनपीएल खेल्न दक्षिण अफ्रिकी स्टार डेभिड मिलर नेपाल आइपुगे, कर्णाली याक्सबाट खेल्ने



काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्न लागेका उनी बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिहरूले स्वागत गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका मिलरको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ ।

३७ वर्षीय बायाँहाते ब्याटर मिलर दक्षिण अफ्रिकाका स्थापित खेलाडीमध्ये एक हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले राष्ट्रिय टोलीसँगै विभिन्न देशका चर्चित फ्रेन्चाइज प्रतियोगितामा पनि आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् ।

मिलरले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग र पाकिस्तान प्रिमियर लिगलगायतका प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सको प्रतिनिधित्व गरेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा उनको प्रदर्शन महत्त्वपूर्ण रहेको थियो ।

दक्षिण अफ्रिकाबाट १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले कुल दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा भारत र बंगलादेशविरुद्ध शतक बनाउनु उनको करियरका उल्लेखनीय उपलब्धि हुन् ।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको सहभागिताले एनपीएलको आकर्षण बढाउनुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बुधबार
Translate »