मैदान नहुँदा पुरुष क्रिकेट तयारीमा ढिलाइ

काठमाडौं । आगामी मंसिरमा नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आयोजक नेपालले तयारी तीव्र बनाएको छ । प्रतियोगिता उद्घाटन र समापन गरिने एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला स्तरोन्नतिको कामदेखि टोली तयारीलाई तीव्र पारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) दाबी गर्छ । तर, समावेश २७ खेलमध्ये क्रिकेटको तयारी अझै सुरु हुन सकेको छैन । साउन पहिलो सातादेखि सबै खेलको तयारी सुरु गर्न राखेपको टोली तयारी समितिले निर्देशन दिए पनि महिला क्रिकेटको तयारी यसै साताबाट सुरु भएको छ । तर, पुरुष टोलीको सुरसार नै छैन । तयारी समितिका निर्देशक महेन्द्रकुमार राई सेप्टेम्बरबाट पुरुष क्रिकेटको तयारी सुरु हुने बताउँछन् । यसअघि उनले भदौको पहिलो साताबाट तयारी सुरु गर्ने बताएका थिए । तर, अहिले मैदानको समस्याले गर्दा पुरुष टोलीको तयारीमा ढिलाइ भएको उनी बताउँछन् ।

अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा महिला क्रिकेट टोलीले तयारी गरिरहेको छ । प्रशिक्षक जगत टमाटाले महिला टोलीको तयारी सुरु गर्दा पुरुष टोलीका खेलाडी भने व्यक्तिगत रुपमा नै अभ्यास गरिरहेका छन् ।

मूलपानी क्रिकेट मैदान निर्माणको काम अन्तिम चरणमा रहेकाले पुरुष टोलीको तयारी सेप्टेम्बर पहिलो साताबाट मूलपानीमा गर्ने राखेपको तयारी छ । सागमा समावेश २७ खेलमध्ये क्रिकेट पनि एक हो । पहिलो पटक समावेश क्रिकेटको युवा टोलीले सागमा अन्य राष्ट्रका युवा टोलीसँग नै प्रतिस्पर्धा गर्नेछ ।

सिंगापुरमा टि–ट्वान्टी विश्वकप अन्तर्गत एशियन छनोट फाइनलमा भाग लिएर फर्किएको नेपाली क्रिकेट टोलीले त्यसपछि मैदानमा प्रवेश पाएको छैन । कतार र घरेलु टोली  सिंगापुरसँग पराजित भएपछि ग्लोबल क्वालिफायर खेल्ने अवसरबाट वञ्चित नेपाली खेलाडीले त्यसपछि खेल्ने मौका पाएका छैनन् ।  सिंगापुरबाट भारत फर्केका भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाल आएका छैनन् । नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले प्रशिक्षक एक सातामा नेपाल आइपुग्ने र त्यसपछि खेलाडी प्रशिक्षणमा जुट्ने बताए । उनले खेलाडी अहिले व्यक्तिगत अभ्यासमा रहेको जानकारी दिए ।

सिनियर टोलीको तयारी कहिले हुने टुंगो नहुँदा यू–१९ युवा टोली भने एशिया कपको तयारी गरिरहेको छ । ढिलो गरी युवा टोलीको एसिया कप तयारी सुरु हुँदा सिनियर टोलीको तयारीमा पनि ढिलाइ भइसकेको छ । टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले साग तयारीबारे आफूलाई केही जानकारी नभएको बताए ।

मंसिर १५ गतेबाट काठमाडौं र पोखरामा हुने भनिएको सागमा यसपटक २७ खेलमा प्रतिस्पर्धा हुनेछ । यसपटक क्रिकेटसँगै कराते, गल्फ र प्याराग्लाडिङ समावेश गरिएको हो । घरेलु मैदानमा आयोजना हुन लागेको एसियाली खेलकुदको कुम्भ मेलामा समावेश अन्य तीन खेलको तयारी हुँदा पुरुष क्रिकेट टोली भने गुमनामजस्तै छ ।

Translate »