काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न माग

सुरक्षाको व्यवस्था नहुँदा पर्यटक असुरक्षित

लक्ष्मी वि.क / भदौ ९ सुर्खेत ।
ऐतिहासिक पुरातात्विक काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न माग राखिएको छ । हालै निर्माण सम्पन्न भएको काँक्रेविहारको सौन्दर्यता, विविधता, अध्ययन–अनुसन्धान तथा दर्शन केन्द्रका रुप विकास गर्दे विश्व सम्पदा सूचीमा राख्न संघीय संसदमा सुर्खेत क्षेत्र नं। २ बाट प्रतिनिधित्व गरेका सांसद नवराज रावतले माग राखेका हुन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद रावतले शिखरशैलीमा पुनर्निर्माणको काम सम्पन्न भएपनि संरक्षित वन क्षेत्रमा रहेको काँक्रेविहारमा तारवारसहित सुरक्षा यूनिटको व्यवस्था गर्न माग राखेका छन् । उनले काँक्रेविहारलाई पर्यटकीय गन्तव्यस्थल निर्माणका लागि पार्क, सवारी साधान पार्किङ्ग स्थल, पर्यटकका लागि फ्रेसर रुमलगायतका कार्य बाँकीले रहेकाले अनुमानित तत्काल कम्तिमा १० करोड रकम विनियोजन गरि दिन माग राखे ।

‘प्रदेश तथा संघीय सरकार, पर्यटन बोर्डलगायत सरोकारवाला निकायसँग मैले काँक्रेविहारको लागि आवश्यक रकम विनियोजनका लागि सभामुख मार्फत अनुरोध गरेको छु,’ उनले भने, ‘मन्दिर निर्माण कार्य सम्पन्न हुनु एउटा युगको अन्त्य भई नयाँ युगको शुरुआत भएको यो कर्णालीको मात्र नभई राष्ट्रकै गहना भएकाले विश्व सम्पदा सूचीमा राख्न माग राखेको हुँ ।’ उनले संरक्षित क्षेत्र काँक्रेबिहारमा १२ वर्षअघि बनाइएको योजना कार्यान्वयन गर्दै पुनःर्निर्माण हुनु सबैका लागि गौरवको विषय भएको जिकिर गरे । एक सय पाँच फिट उचाईं रहेको मन्दिरको भग्नावशेष २०५७ साल फागुन ११ गतेदेखि उत्खनन् गरिएको थियो । दुईहजार २८ वटा पुरातात्विक वस्तुहरु निकाली सोही अनुरुप मन्दिरको स्वरुप दिइएको छ । नौ करोड ६५ लाख ६६ हजार रुपैयाँमा काठमाडौंको सिद्धबाबा कन्स्ट्रक्सन प्रालिले मन्दिरको पुनर्निर्माण गरेको हो ।


धार्मिक किम्वदन्ती अनुसार काँक्रेविहारमा पाँच पाण्डवले बसोबास गरेको मानिन्छ । काँक्रेविहारका केही तथ्यले सिञ्जा साम्राज्यका राजा अशोक मल्लले वि.सं १३२५ मा निर्माण गरेको पाईन्छ । काँक्रेविहारमा बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्राहरु लगायत विभिन्न मूर्तिहरु रहेका छन् । काँक्रेविहारलाई हिन्दु, बौद्ध र जैन धर्मको सामुहिक केन्द्रको रुपमा श्रद्धा गर्ने गरिन्छ । विक्रम सम्वत २०७२ सालदेखि काँक्रेविहार पुनर्निर्माणको काम थालिएको थियो ।

यसअघि काँक्रेविहार वि.सं. १८९० को भुकम्पले भत्किएर अस्तव्यस्त बनेको थियो । पुरातात्विक हिसाबले निकै महत्वपूर्ण मानिएको काँक्रेविहारमा दैनिक सरदर २ सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने गरेका छन् । काँक्रेविहारमा पिउने पानी, शौचालय, पार्किङ्ग र सुरक्षा चौकी जस्ता आधारभूत संरचना नहुँदा घुम्न आउने पर्यटकलाई सास्ती खेप्नु परिरहेको छ । काँक्रेविहारको बाँकी कामका लागि केन्द्रसँगै प्रदेश सरकारले समेत चाँसो दिन आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माले औल्याए ।

Translate »