२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 8, 2026

महिला अटोरिक्सा चालक तयार गर्दै वीनपा

महिला स्वरोजगार कार्यक्रम


वीरेन्द्रनगर नगरपालिका महिला अटोरिक्सा चालक तयार गरिरहेको छ । वीनपाले मंगलबार महिला स्वरोजगार कार्यक्रम अन्तर्गत ९ जना महिलालाई सहुलियत अनुदानमा नौ वटा अटोरिक्सा वितरण गरेको हो । महिला स्वरोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा १ करोड रकम विनियोजन गरेकोमा अटोरिक्सा चालक तर्फ २३ जना महिला मध्ये सवारी चालक अनुमति पत्र परीक्षामा उर्तिण ९ जना सवारी चालक महिलालाई अटोरिक्सा वितरण गरेको हो । वीनपाले ती महिला अटो रिक्सा चालकलाई विनो धितो सहुलिय ऋण कर्जा उपलब्ध गराएपछि उनीहरु पूर्ण स्वरोजगार हुने अपेक्षा राखिएको छ ।

‘महिला स्वरोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा २३ जना महिलालाई अटोरिक्सा ड्राईभिङ्ग तालिमदेखि चालक अनुमति पत्र परीक्षा (लाईसेन्स) निकाल्नसम्म वीनपाले नै सहयोग गरेको थियो,’ वीनपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले भने, ‘सवारी चालक अनुमति पत्र परीक्षामा ती मध्ये ९ जना उर्तिण भएकालाई विना धितो सहुलियत कर्जामा अटोरिक्सा उपलब्ध गराएका हौं ।’ उनले ती चालक अनुमति पत्र उर्तिण महिलालाई प्रति व्यक्ति २ लाख रुपैयाँ सहयोग गरिएको मध्ये एक लाख रुपैयाँ उनीहरुले वीनपालाई फिर्ता गर्नुपर्ने बताए । उनका अनुसार वीनपाको जमानीमा बाँकी रकम उनीहरुले अटोरिक्सा विक्रेता कम्पनीलाई किस्तामा बुझाउनु पर्ने हुन्छ ।

‘महिला स्वरोजगार कार्यक्रम अन्तर्गत गत वर्ष छुट्टाईएको एक करोड रुपैयाँमा ३५ प्रकारका विभिन्न स्वरोगार तालिमहरु सञ्चालन गरिएको थियो,’ उनले भने, ‘गत वर्षको उत्साहजनक महिला सहभागितालाई आधार मानेर यस वर्ष पनि महिला स्वरोजगार कार्यक्रम तर्फ १ करोड विनियोजन गरेर कार्यक्रमलाई निरन्तरता दिएका छौं ।’ उनले महिलाहरुको स्वरोजगारप्रति बढ्दो सहभागितालाई मध्यनजर गरेर आउँदा वर्षहरुमा थप रकम बढाउन आवश्यक देखिएको बताए । मंगलबार सहुलियतमा विना धितो बजाज कम्पनीका ती अटोरिक्सा पाएपछि महिला अटोरिक्सा चालकहरु स्वरोजगारतर्फ उत्साहजनक रहेको पाइएको थियो ।

प्रकाशित मिति : २०७६ भदौ १० गते मंगलबार
Translate »