मिठाई खाँदा सावधान ! अखाद्य रङको बिगबिगी

स्काई न्यूज /पुस ५, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नास्ता तथा मिठाईका परिकारमा हानिकारक रङ अत्यधिक प्रयोग गर्ने पाइएको छ । शनिबार वीरेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वमा गरिएको बजार अनुगमनमा नास्ता तथा मिठाईलाई आकर्षक देखाउन व्यवसायीले अखाद्य रङ प्रयोग गर्ने गरेको पाइएको हो । रङ प्रयोग गरिएका नास्ता तथा मिठाई स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकले बताएका छन् ।

अनुगमन समितिका सदस्य तथा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले वीरेन्द्रनगर बजार क्षेत्रका साथै महोत्सवभित्रका धेरै जसो नास्ता पसलका नास्ता तथा मिठाईमा अत्यधिक मात्रामा रङ प्रयोग भएको पाइएको बताए । उनले अनुगमन समितिद्वारा महोत्सवभित्रका करिब तीन दर्जन पसलहरुको अनुगमन गरिएको जनाए । नगरपालिकाका वरिष्ठ अधिकृत योजना तथा अनुगमन शाखा प्रमुख प्रकाश पौडेलले अनुगमन गरिएका पसलका नास्ता तथा मिठाईका परिकारमा रङ प्रयोग बढी गरेको पाइएको बताए । ‘पसलमा नास्ता तथा मिठाईका परिकार बनाउने स्थान पनि दुर्ग्न्धित रहेका पाइयो,’ उनले भने, ‘मिठाई बनाउनेदेखि भाडा माझ्ने स्थान एउटै रहेको भेटियो ।’ उनले अनुगमनका क्रममा मासु, चाउमिन, पकौडा, जेरी, चप, फ्राईअण्डा र मिठाइमा हानिकारक रङ प्रयोग धेरै गरिएको भेटिएपछि पहिलो पटकका लागि चेतावनी दिएर छोडिएको बताए । सरसफाइ नगर्ने र मिठाईमा रङ बढी प्रयोग गर्ने मिठाई पसलका सञ्चालकलाई रङ प्रयोग नगर्न निर्देशन दिइएको उनले जनाए । उनका अनुसार अनुगमनमा भारतीय मूलका व्यापारीद्वारा महोत्सवमा विक्रीका लागि बनाइएको कटरकन्डी (हवाई मिठाई) मा अखाद्य रङ प्रयोग गरेको पाइएपछि मिठाई नष्ट गर्न निर्देशन दिएको छ ।


वीरेन्द्रनगर नगरपालिका बजार अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले ती भारतीय व्यापारीले मिठाईलाई आकर्षक देखाउन अखाद्य गुलाबी रङ प्रयोग गरेको पाइएको जानकारी दिए । उनले अखाद्य वस्तुहरुको नियन्त्रण गर्न बजार अनुगमन समितिले अनुगमन गरेको बताए । ‘ग्रामीण क्षेत्रसँगै वीरेन्द्रनगर बजारमा विक्रीका लागि राखिएका नास्ता तथा मिठाईमा अखाद्य वस्तु, अत्यधिक रङ प्रयोग गरेको भेटियो,’ उनले भने, ‘अखाद्य वस्तुको सेवनबाट सर्वसाधारणको स्वास्थ्यमा पर्न सक्ने असरलाई दृष्टिगत गर्दै महोत्सवमा अनुगमन गरिएको हो ।’ अनुगमनका क्रममा पसलको सरसफाइसँगै नास्ता तथा मिठाईलाई जालीले छोपेर राख्नसमेत निर्देशन दिएको उनले बताए । अनुगमनमा नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका ईन्चार्ज मिनबहादुर विष्ट, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

Translate »