सरकार पर्यटन विकासमा प्रतिवद्ध छः मन्त्री बुढा


स्काई न्यूज /पुस १९, सुर्खेत ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले काँक्रेविहार क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार दृढताका साथ लागि परेको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका–९ नम्वर वडा कार्यालयले शनिबार ‘भ्रमण वर्ष २०२० अन्तर्गत ‘यसपालि घुमौ कर्णाली’ भन्ने नारालाई सार्थक पार्न काँक्रेविहारदेखि अँधेरी गुफासम्मको ७ किलोमिटर दौड प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बुढाले ओझेलमा परेका पर्यटकीय स्थलहरुको बारेमा अवलोकन गराउन सरकार निरन्तर लागि रहेको उल्लेख गरे । ‘काँक्रेबिहार, अधेरी गुफा तथा कर्णालीका अन्य पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध छ,’ उनले भने, ‘प्रदेशका प्रमुख पर्यटक स्थलहरुको रुपमा रहेको काँक्रेबिहार लगायतका स्थलहरुको भौतिक संरचना निमार्ण लगायतका काम अघि बढी रहेका छन् ।’ वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले पर्यटक स्थलहरुको अवलोकन तथा भ्रमण बर्ष शुरु भएको अवस्थामा नगरपालिका पर्यटन प्रवद्र्धनका लागि हातेमालो गर्न तयार रहेको बताए । वीनपा ९ नम्वर वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्नका लागि नै दौड प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे । उनले भ्रमण वर्ष २०२० को अवसर पारेर काँक्रेविहारसँगै अँधेरी गुफालगायतका स्थलहरुको प्रचारप्रसार गरिने जनाए । अँधेरी गुफा करिव चार वर्ष अघि पत्ता लागेको थियो । उक्त गुफामा प्राचिन शिवलिङ्ग लगायत कुदिएका मुत्तिहरुको रहेको स्थानीयको भनाइ छ । दौड प्रतियोगितमा दुई जना महिला प्रतिभागिसँगै ४५ जनाको सहभागिता रहेको थियो । प्रतियोगितमा डिलबहादुर बुढा प्रथम धिरेन्द्र भण्डारी द्वितीय, एवं अमृत बुढाले तृतीय स्थान ल्याउन सफल भएका छन । विजयी खेलाडीलाई मन्त्री बुढा, नगरप्रमुख सुबेदी एवं कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले संयुक्तरुपमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।