सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना हुँदै

स्काई न्यूज /पुस २७, सुर्खेत ।
सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । नेपाल सरकारले अबको ६ महिना भित्र सुर्खेतमा मूल्यवान तथा अर्थमूल्यवान पत्थर प्रशोधन केन्द्र स्थापना गर्न लागेको हो । मूल्यवान तथा अर्धमूल्यवान पत्थरहरुको उत्खनन गरी प्रशोधन र निर्यातमा रहेका नीतिगत जटिलता हटाएर सुर्खेतमा प्रशोधन केन्द्र स्थापना गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । प्रशोधन केन्द्रमा मूल्यवान तथा अर्धमूल्यवान धातु रत्न, पत्थर कटिङ्ग तथा पोलिसिङ्गको काम हुनेछ । साविकको घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतको मुख्य कार्यालय परिसरमा धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि पूर्वाधारका कामहरु अन्तिम चरणमा रहेका छन् । सानो स्केलमा अहिले पनि कटिङ, पोलिसिङ तथा ड्रिलिङका कामहरु भईरहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक शम्भुप्रसाद पौडेलले बताए ।

उनले कटिङ, पोलिसिङ तथा ड्रिलिङका दुई सेट मेसिनमा प्रति सिफ्टमा १२ जनाले काम गर्न सक्ने क्षमता रहेको जनाए । ‘सुर्खेतमा २०६५ सालदेखि नै सानो स्केलको रत्न पत्थर प्रशोधन विकास केन्द्र स्थापना भएको थियो,’ उनले भने, ‘कर्णाली प्रदेशमा पाईने बहुमूल्य धातुको पहिचान गरी सुर्खेतमा प्रशोधनको काम हुँदै आएको छ ।’ उनले साविकको घरेलु तथा साना उद्योग विकास समिति मार्फत रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङका वर्षेनी सयौं युवालाई तालीमसमेत दिँदै आएको बताए । विश्वमा पाइने आठ सय धातुहरु मध्ये नेपालमा आठ प्रकारका धातु पाइन्छन् । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने धातुहरु हुन् । निर्देशक पौडेलले कर्णाली प्रदेशका हिमाली क्षेत्र रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको जनाए । ‘सरकारले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननका लागि निजी क्षेत्रलाई दिने योजना बनाएको छ,’ उनले भने, ‘कर्णालीका सुर्खेत, दैलेख, कालिकोटसँगै लमजुङ, गोरखा, धादिङ, संखुवासभा, ताप्लेजुङ, ओखलढुंगा रत्न तथा पत्थर रहेका सम्भावित जिल्लामा पर्छन् ।’ उनले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न, पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना भई सकेको जनाए ।


औद्योगिक केन्द्र बन्दै सुर्खेत
सुर्खेतलाई कर्णाली प्रदेशको औद्योगिक केन्द्रका रुपमा विकास गरिने भएको छ । प्रादेशिक राजधानी समेत रहेको सुर्खेतलाई सरकारले औद्योगिक केन्द्र बनाउने घोषणा गरेको हो । यस क्षेत्रमा पाइने बहुमूल्य पत्थर प्रशोधन गर्नका लागि सुर्खेतमा केन्द्र सरकारले पत्थर प्रशोधन केन्द्र स्थापना गर्न लागेको छ । यसअघि करिब दुई करोड रुपैयाँ लागतको वीरेन्द्रनगरमा जडीबुटी प्रशोधन केन्द्रको शिलान्यास भईसकेको छ । केन्द्रको शिलान्याससँगै क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको प्रशोधन सुर्खेतमै हुने भएको हो । रत्न पत्थर प्रशोधन केन्द्र स्थापन भएपछि सुर्खेतलाई प्रादेशिक औद्योगिक केन्द्रका रुपमा विकास गर्न लागिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले बताए । उनले कर्णाली प्रदेशमा रहेका बहुमूल्य खनिजपदार्थ र जडीबुटीको प्रशोधन गर्न सकेमा देशकै अर्थतन्त्र बलियो हुने उल्लेख गरे । ‘जडीबुटी र खनिजबाटै कर्णाली प्रदेशको अर्थतन्त्रलाई थेग्न सकिने देखिन्छ,’ उनले भने, ‘पश्चिम सुर्खेतको चौकुने र लखरपाटा सिमेन्ट उद्योग पनि तत्काल सञ्चालन गर्न सरकारले पहल कदमी चाल्नु पर्छ ।’ उनले यी उद्योगहरु सञ्चालन भएमा सुर्खेत वास्तविक रुपमै औद्योगिक केन्द्र बन्ने दावी गरे ।

Translate »