‘भ्रष्टाचार जनताको साझा शत्रु’

स्काई न्यूज /पुस २८, सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई आफ्नो २९ औं वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७५÷०७६ को २९ औं वार्षिक प्रतिवेदन बुझाएका छन् । अख्तियारको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख कलौनीले भ्रष्टाचार नेपाली जनताको साझा शत्रु भएकाले यसलाई जरैदेखि उखेल्नुपर्ने बताए । उनले भ्रष्टाचार न्यूनिकरणका लागि आयोगले खेलेको प्रवर्धनात्मक, निरोधात्मक र उपचारात्मक रणनीति मध्ये प्रवर्धनात्मक रणनीति मार्फत समाजलाई भ्रष्टाचारमुक्त एवं सदाचारयुक्त बनाउन सुझाव दिए ।
‘समग्र देशको आंकडा हेर्दा कर्णाली प्रदेशमा अख्तियार दुरुपयोगको अवस्था अन्य प्रदेशको तुलनामा कम भएको पाईयो,’ उनले भने, ‘कर्णाली प्रदेशको भौगालिक विकटता, जनचेतनाको कमी र पहुँचको कमीले गर्दा पनि आयोगमा उजुरी दर्ता कम भएको हुनसक्छ ।’ उनले आयोगलाई त्यसतर्फ समयमै सजग हुन आग्रह गर्दे दण्डात्मकतर्फ जान नपर्ने परिस्थितिको सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘अख्तियारले अनुसरण गरेको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको व्यवहार सराहनीय छ,’ उनले भने, ‘सुशासन स्थापनाका लागि भ्रष्टाचार नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै कर्णालीमा थप सचेतना अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ ।’

उनले अख्तियारसँगै भ्रष्टाचार विरुद्धको काम कारबाहीमा तीन वटै तहका सरकारले विशेष कौशल देखाउनु पर्नेमा जोड दिए । देश संघीयताको नयाँ अभ्यासबाट समृद्धिको यात्रामा अघि बढेकाले भ्रष्टाचार निर्मुल अपरिहार्य रहेको उनको भनाइ थियो । प्रतिवेदन बुझउँदै आयोगका सुर्खेत प्रमुख पौडेलले कर्णाली प्रदेशमा ९६३ उजुरी परेका मध्ये ५५२ उजुरी फछर्यौट गरि २८ वटा विस्तृत उजुरी केन्द्रमा बुझाएको जानकारी दिए । उनले देशैभरी सबै भन्दा कम ५ दशमलव २३ प्रतिशत उजुरी कर्णाली प्रदेशमा परेको जनाए । उनका अनुसार कर्णालीमा आउने उजुरी मध्ये धेरैजसो स्थानीय तह, वन, शिक्षा, भौतिक पूर्वाधार तथा कृषि सम्बन्धी रहेका छन् ।