कर्णालीमा कुष्ठ रोगीको संख्या घट्दै

स्काई न्यूज /माघ ९, सुर्खेत ।
कर्णालीमा कुष्ठरोगीको संख्या क्रमिकरुपमा घट्दै गइरहेको छ । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करुपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरुपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको संख्या क्रमिकरुपमा घट्दै गइरहेको हो । पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा प्रदेशमा कुष्ठरोगका विरामीको संख्या घट्दो क्रममा रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले विहीबार वीरेन्द्रनगरमा ६७ औं विश्व कुष्ठ रोग दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा जानकारी दिएको हो । यो संख्या गत वर्षको भन्दा कम हो । कुष्ठ रोग निवारणको घोषणा भए पनि कुष्ठ रोगीको फेला पर्ने क्रम रोकिएको छैन् । सुर्खेतस्थित साइनिङ अस्पतालमा आएका बिरामीमध्ये कर्णाली प्रदेशका जाजरकोट, कालिकोट, दैलेख र सुर्खेतका बिरामी धेरै रहेका छन् । विगतका आर्थिक वर्षभन्दा यो वर्ष कुष्ठ रोगीको संख्यामा कमी देखिएपनि विरामी अस्पतालमा आउने क्रम भने नरोकिएको साइनिङ अस्पताल सुर्खेतका प्रमुख मङ्गल थारुले भने । अन्तरक्रिया कार्यक्रममा पछिल्ला ३ वर्षमा कुष्ठरोगका नयाँ विरामी फेला पर्ने दर कम हुँदै गएको निर्देशनालयको भनाइ छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा ८९ जना नयाँ विमारी मात्र फेला परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा कुष्ठ रोगका ११५ जना विरामी फेला परेका थिए भने त्यस अघिल्लो आवमा पनि त्यति नै संख्यामा कुष्ठरोगी फेला परेको स्वास्थ्य सेवा निर्देशनालयका क्षय तथा कुष्ठरोग अधिकृत पदक केसीले जानकारी दिए । कर्णालीका दूरदराजमा पुरातनवादी सोचका कारण अझै रोगलाई लुकाएर बस्ने चलन कायमै रहेको केसीको भनाइ थियो । सरकारी तथ्याङ्कमा कर्णालीका १० वटै जिल्लामा कुष्ठ रोगको अवस्था स्थिर रहेको उनको भनाइ थियो । ‘हाम्रो प्रदेशमा कुष्ठ रोगीको अवस्था बढेको पनि छैन, उल्लेख्यरूपमा घटेको पनि छैन,’ उनले भने । अन्तरक्रिया कार्यक्रममा कुष्ठरोग निवारणका लागि सरकारी स्तरबाट थालिएका प्रयासहरु शहर केन्द्रीत भएकाले लक्षित समुदायसम्म पु¥याउन सुदूर गाउँहरुमा थप प्रचारप्रसार तथा जनचेतना फैलाउन आवश्यक रहेको सहभागिले औल्याएका थिए । कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता जोशी भण्डारी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीलगायतले भनाइ राखेका थिए ।

Translate »