‘मस्यौदा वस्तुनिष्ठ बनाउन सुझाव’
स्काई न्यूज/ माघ १०, सुर्खेत ।
कर्णाली प्रदेश योजना आयोगले तयार पारेको प्रथम पञ्चवर्षीय योजनाको मस्यौदा मुलभुत रुपमा सही भएपनि अझै वस्तुनिष्ठ बनाउन सुझाव दिएका छन । कर्णाली प्रदेश विकास परिषद्को शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न बैठकका सहभागिले योजना आयोगको पञ्चवर्षीय योजना मस्यौदा केही हद सही भएपनि थप वस्तुनिष्ठ बनाउन सुझाव दिएका हुन् । ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ बसेको प्रदेश विकास परिषद्को बैठकमा प्रदेशको प्रथम पञ्चवर्षीय योेजनाको मस्यौदामाथि छलफल गर्दै सहभागीहरुले तत्कालै परिणाम निस्कने खालका योजनालाई प्राथमिकता दिएर ठोस योजना अघि सार्न औल्याए ।
बैठकमा कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रदेशलाई सुखारी बनाउने भनेको सडक भएको बताउँदै जिल्ला सदरमुकामसम्म सडक नै नपुगेको बेला जलमार्ग, हिमाली एअरपोर्ट, विद्युतीय रेलमार्ग जस्ता योजनाहरु काल्पिनक मात्र हुने जिकिर गरे । बैठकमा बोल्दै परिषद् अध्यक्ष एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समृद्ध कर्णाली सुखारी कर्णालीबासी बनाउने दायित्व सबैको भएको बताए । उनले समृद्ध प्रदेशको एजेण्डामा सबैको एकता आवश्यक भएकाले रचनात्मक रुपमा अघि बढनुपर्नेमा जोड दिए । ‘कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीरतापूर्वक लागेको छ,’ उनले भने, ‘पाँच वर्षमा ११४७ डलर तथा २५ वर्षभित्र प्रतिव्यक्ति आय १२ हजार १ सय डलर पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको छ ।’ प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर पुण्यप्रसाद रेग्मीले प्रदेशको पञ्चवर्षीय योजनाको आधारपत्र प्रस्तुत गरेपछि बैठकमा सहभागि परिषद सदस्यहरुले आधार पत्रका बारेमा आ–आफ्ना सुझाव राखेका थिए ।
बैठकमा ४३ जना परिषद् सदस्यहरुले सुझाव राखेका थिए । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्यसञ्चालन) आदेश २०७५ को दफा ७ को प्रावधान वमोजिम गठित प्रदेश विकास परिषदको शुक्रबार सम्पन्न बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, कर्णाली प्रदेश सभाका संसदीय दलका नेताहरु, संसदीय समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश सरकारका सचिवहरु, कर्णाली प्रदेश भित्रका सबै जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।