मंगलबार दिनभरी वीरेन्द्रनगर तनावग्रत

• टिपरको ठक्करबाट मृत्यु • प्रशासनद्वारा कफ्यु आदेश • निजी सम्पत्ती तोडफोडप्रति संघको आपत्ती

स्काई न्यूज /माघ १४, सुर्खेत ।
टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि टायर बालेर सडकमा उत्रेका प्रदर्शनकारीबाट थप तोडफोड, आगजनी र धनजनको नोक्सानी हुन सक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लगाएको प्रमुख जिल्ला अधिकारी वषन्त अधिकारीले जानकारी दिए । भर्खरै सम्पन्न सुरक्षा समितिको वैठकले उग्र रुप लिएको प्रदर्शनले धनजनको क्षति हुन सक्ने भन्दै कर्फ्यू आदेश गरेको उनले बताए ।

प्रशासन कार्यालयले कर्फ्यू आदेश सूचना जारी गर्दै पूर्वमा ईत्राम खोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लाग्ने बताएको छ । कर्फ्यू लागेको समयमा तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन वा अन्य कुनै पनि काम गर्न नपाईने प्रशासनको भनाइ छ ।

कर्फ्यू तोड्ने जो कोहीलाई पनि आवश्यकताअनुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने भन्दै प्रशासनले आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ ।

वीरेन्द्रनगरको मूलपानी चोकनजिकै मंगलबार बिहान टिपरले ठक्कर दिँदा कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावपूर्ण भएपछि प्रशासनले कफ्यु आदेश जारी गरेको छ ।


भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । टिपरको ठक्करबाट कालिकोटका सिंहको मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले मंगलबार दिनभरी बजार बन्द गराउनुका साथै टायर बालेर उग्र प्रदर्शन गरेका हुन् । अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।टिपरको ठक्करबाट कालिकोटका सिंहको मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीको अवरोधका कारण सवारी साधनसमेत चल्न सकेका छैनन्। चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै मृतक सिंहका आफन्त र स्थानीयले कडा कारबाहीको माग गरेका छन्। उनीहरुले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्।

गोली लागेर ८ जना घाइते
घटनापछि वीरेन्द्रनगरको माहोल एकाएक तनावग्रस्त बन्यो । सिंहका आफन्तले वीरेन्द्रनगर बजारमा टायर बालेर प्रदर्शन गरी सवारी साधन र पसलहरु बन्द गराए । प्रहरीले आन्दोलन रोक्नका लागि हवाईफायर पनि ग¥यो । चालकको लापरबाहीले घटना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन् । प्रहरीले सडकबाट लास उठाएपछि अवस्था थप तनावपूर्ण बनेको हो । सोहीक्रममा दोहोरा झडप हुँदा अश्रुग्यास प्रहार गर्दा पनि अवस्था नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको बताएको छ । गोली लागेर एक दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । अवस्था तनावपूर्ण बनेपछि सुरक्षाकर्मीलाई स्थिती नियन्त्रण गर्न हम्मे–हम्मे परेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररुप लिँदा प्रहरीले हवाई फायर गरेको तर आन्दोलनकारी माथि प्रहरीको गोली नभई अज्ञात समूहले गोली चलाएको सुरक्षाकर्मीको भनाइ छ । गोली लागेर घाईते भएका ८ जना मध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । घाइते भएका प्रदशनकारीहरुको टाउको, छाती र खुट्टामा गोली लागेको अस्पताल स्रोतले जनाएको छ ।

तोडफोडप्रति संघको आपत्ती
सुर्खेत उद्योग वाणिज्य संघले मंगलबार टिपरको ठक्करबाट एक युवकको मृत्यु पश्चात आक्रोशित भिडले निजी सम्पत्ती माथि भएको तोडफोड भएको प्रति आपत्ती जनाएको छ । घटनापछि उत्तेजित बनेका केही उत्श्रृखल युवकहरुको समूहले पूर्व जानकारी विनै पसल बजार बन्द गराउने निहुँमा यस संघको कार्यालयका साथै बजार क्षेत्रका पसलहरुमा ढुङ्गामुढा र तोडफोड गरि क्षति पु¥याएको घटनाप्रति खेद तथा विरोध जनाउँद छौं,’ संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । शान्तिपूर्ण आन्दोलनको विकल्प रहँदा रहँदै एक्कासी हुलहुज्जत र ढुङगामुढा गर्ने कार्यलाई निरुत्साहित एवं नियन्त्रण गर्नुपर्ने प्रहरी प्रशासनको सक्रियता र भूमिकापनि प्रभावकारी नदेखिएको संघको भनाइ छ । सडक दुर्घटनामा परी आन्दोलन गर्ने नाममा भएको निजी सम्पत्तीको क्षतिपूतिको उचित मूल्यांकन गरि पीडितलाई क्षतिपूर्तिसहित तोडफोड तथा ढुङ्गामुढा गर्ने व्यक्तिको पहिचान गरेर यथासम्भव छिटो कानूनी दायरामा ल्याएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाई दिन संघले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ । दिनभरी बजार बन्दा हुँदा १० करोड बढीको नोक्सानी भएको संघको भनाइ छ ।

Translate »