२०८३ भदौ २७ , शनिबार
Sky News Nepal
September 13, 2026

चौकुनेमा क्षमता विकास कार्यशाला



स्काई न्यूज /माघ १४, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा शिक्षाको स्तर माथि उठाउन क्षमता विकास कार्यशाला गरिएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि ३ दिने क्षमता विकास कार्यशाला मंगलबार सम्पन्न गरिएको हो । प्रारम्भिक कक्षा पढाई कार्यशाला समापन कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर बढाउन स्थानीय तहले नीतिगत व्यवस्था प्रभाकारी बनाउने गरी विद्यालय अनुगमनलाई नतिजामा आधारित बनाइने बताए ।

त्यस्तै उपाध्यक्ष निर्मला राना मगरले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमले स्थानीय तहका विद्यालयलाई योजना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गरिने राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम चौकुने गाउँपालिकाबाट शुरु भएको भन्दै विद्यालय शिक्षाको नीति निर्माण गर्दा विद्यार्थीको सिकाई गुणस्तरीय बनाउन केन्द्रित रहनु नै अहिलेको आवश्यकता भएको औल्याए । कार्यशालामा शिक्षा सम्बन्धि संविधानिक व्यवस्था, राष्ट्रिय शिक्षा नीति, पन्ध्रौं आवधिक योजनामा समाबेश गरिएका पक्षहरुका साथै स्थानीय शिक्षा पाश्वचित्र के, कसरी बनाउन सकिन्छ र यसको सान्दर्भिकता औतित्यता माथी प्रशिक्षक एवं उपसचिव ललित बिक्रम सिंहले स्पष्ट पारे ।

सामाजिक विकास समितिका संयोजक नवराज जैसीले आगामी वर्ष आफ्नो वडाको बजेटबाट राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सञ्चालनमा ल्याउने जनाए । कार्यशालामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गतका क्रियाकलापलाई महत्वका साथ समेट्ने प्रतिबद्धता गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख भानुभक्त घिमिरेले जानकारी दिए । सोही अवसरमा गाउँपालिकामा रहेका प्रारम्भिक कक्षाका बालबालिकाको पढाई सिपको परीक्षणको नतिजा विश्लेषण पनि गरिएको थियो । कार्यक्रममा चौकुने गाउँपालिकाका १० वटै वडाका अध्यक्षहरु, विद्यालयका प्रअ, विव्यस अध्यक्ष, शिक्षक, प्रारम्भिक कक्षा पढाइका शिक्षकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७६ माघ १५ गते बुधबार
Translate »