दोस्रो कर्णाली एक्स्पो फागुनमा हुँदै

स्काई न्यूज /माघ १५, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा ‘दोस्रो कर्णाली एक्स्पो’ फागुनमा हुने भएको छ । एक्स्पोको मुख्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर आगामी फागुन ६ गतेदेखि १७ गतेसम्म वीरेन्द्रनगरमा ‘अर्गानिक कृषि, उद्योग, पर्यटन, सांस्कृतिक महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको हो । भिजिट नेपाल २०२० को अवसर पारेर कर्णाली प्रदेशका धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटकीय स्थलहरुको प्रचार प्रचार एवं प्रवद्र्धन गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष धनबहादुर रावतले बताए ।

उनले कर्णालीका विभिन्न पर्यटकीय स्थलहरुलाई एकापसमा जोड्ने गरी टुर प्याकेज एवं सहुलियत घोषणा गरी भ्रमण वर्ष सरकारी अभियानलाई सफल बनाउन एक्स्पोले महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गरे ।‘महोत्सवका क्रममा पानी छल्ने (वाटरप्रुफ) स्टलहरु निर्माण गरिनेछ भने सुरक्षाका लागि आन्तरिक सुरक्षाकर्मी र सीसी टीभी क्यामेरा समेतको व्यवस्थापन गरिनेछ,’ उनले भने, ‘सुर्खेतको प्रख्यात देउती बज्यैको मन्दिरको झल्को दिने गरी मुख्य प्रवेश गेट निर्माण गर्नुका साथै बेलायतको लण्डनस्थित लण्डन ब्रिजको आकार प्रकार र संरचनाअनुसारकै महोत्सव स्थल प्रवेश गेट निर्माण गरिनेछ ।’ उनले महोत्सव स्थलभित्र दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावर अनुसारकै संरचना बनाई सेल्फी पोइन्टका रुपमा निर्माण गरिने जानकारी दिए । एक्स्पोमा करिब ५ सय व्यवसायिक स्टलहरु रहनेछन् । करिब ५ करोडको व्यवसायिक कारोबारसँगै ३ लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा राखिएको उनको भनाइ थियो । त्यस्तै एक्स्पो अवधिभर करिब १ करोड ३३ लाख जति खर्च हुन सक्ने अनुमान छ ।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीले महोत्सव स्थलमा यस पटक बेग्लै कृषि परिसरको अवधारणा अघि सारिएको बताए । उनले सुर्खेत उद्योग वाणिज्य संघको सहकार्यमा ८० वटा अलग्गै कृषिका अर्गानिक वस्तुहरुका स्टल राखिने जनाए । उनका अनुसार त्यहाँ कर्णालीका दश वटै जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका रैथाने तथा अर्गानिक कृषि उपजहरुको प्रदर्शनी गरिनेछ । कलासंस्कृति, पर्यटकीय स्थल कर्णालीका रैथाने उत्पादन जस्तै अल्लोका टोपी र कोट लगायत कर्णालीका साना, मझौला घरेलु उद्योगका उत्पादनहरुका साथै यस प्रदेशको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा रहेका बहुमूल्य जडिबुटी र रत्नपत्थरहरुपनि प्रदर्शनीका लागि बेग्लै पवेलियन राखिने संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । ‘महोत्सवको मुख्य लक्ष्य भनेकै उद्योगी व्यवसायी र उपभोक्ताबीचको सोझो सम्पर्क र सम्वन्ध स्थापित गर्नु नै हो,’ उनले भने, ‘जसका लागि महोत्सवमा दर्शकका रुपमा आउने उपभोक्ताहरुको संख्या जति बढाउन सकियो उत्पादक एवं उद्योगीहरुले पनि त्यत्ति नै लाभान्वित हुने छन् ।’ उनले विभिन्न उद्योग तथा उद्यमीहरु, कृषक तथा कृषि उत्पादनहरुको प्रचार प्रसारसँगै व्यापार प्रवर्धन अन्तर्गत कला, संस्कृति, पराम्परागत सीपहरुको प्रवद्र्धन तथा बजारीकरणमा जोड दिने बताए । एक्स्पोको आयोजक नेपाल उद्योग वाणिज्य महासंघ, सहआयोजक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत रहेका छन् ।

Translate »