युरोपियन फिल्म फेस्टिभल सम्पन्न

सुर्खेत । सुर्खेतमा आयोजित तीने दिने ‘नेपाल युरोपियन फिल्म फेस्टिभल’ शुक्रबार सम्पन्न भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ को १२ औं संस्करण अन्तर्गत मानवअधिकारको नारा लिएर वैशाख २० देखि २२ गतेसम्म सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको फिल्म फेस्टिभलमा युरोप र नेपालका गरि १६ वटा फिल्म प्रर्दशन गरिएका थिए ।

सुर्खेती दर्शकको उत्साहपूर्ण सहभागिता रहेको फिल्म महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल गरिएको नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियनका प्रेस तथा सूचना अधिकृत अम्मर मैनालीले जानकारी दिए । उनले युरोपियन फिल्मबाट युरोपको जनजीवनसँगै त्यहाँ आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको बारेमा समेत सचेत गराईएको पाईएको बताए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय ईन्जिनियर संकायका डीन डाक्टर सुदीपसिंह ठकुरीले युरोपियन फिल्म महोत्वसबाट मनोरञ्जन मात्र नभई नयाँ ज्ञानसँगै यूरोपको संस्कार तथा संस्कृतिको बारेमा बुझ्ने अवसर पाईएको जनाए । फिल्म महोत्सव समापन समारोहमा नेदरल्याण्डमा बनेको फिल्ममा ‘मित्रा’ चलचित्र अन्तिम समयसम्म हेर्ने १० जना दर्शकलाई चिठ्ठा पर्थाबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Translate »