भोलिदेखि नेपालगञ्जमा डेढ सय बर्ष पुरानो ‘रामलिला’ मञ्चन हुँदै

बाँके । डेढ सय वर्षदेखि नेपालगञ्जमा सञ्चालन हुँदै आएको रामलिला भोलिदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्ज–१३ रामलिला मैदानमा रामलिला मञ्चन हुँदै आएको छ ।

रामलीलाको १ सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पूरा भइसकेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए । १ सय ५३ र १ सय ५४ औँ संस्करण कोरोना महामारीका कारण परिवर्तन गरिएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलिला मञ्चन गरिन्छ ।

भारत वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको साङ्गीतिक कलाकार टोली नेपालगञ्ज पुगिसकेको सञ्चालक समितिले जनाएको छ । अध्यक्ष कानोडियाका अनुसार भोलि दिउँसो २ बजेदेखि रामलिला मैदानबाट शोभा यात्रा निकालिनेछ भने साँझ ८ बजे नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलिला महोत्सवको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । रामलीलामा धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जगाई राख्न सहयोग सङ्कलन गरेर पनि रामलिला महोत्सव गर्दै आएको प्रचार मन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

Translate »