‘दशै’ सामाजिक, सांस्कृतिक पर्वका साथै कृषि उत्सव पनि हो

काठमाडौं । प्राचीन कालदेखि नै उत्सवका रुपमा मनाइने गरिएको दशै पर्वले शरद ऋतुको यामलाई थप उल्लासमय बनाइदिने गर्छ । कतिपयले दसैँलाई धार्मिक पर्वका रुपमा लिन्छन् भने कतिपयले सामाजिक र सांस्कृतिक परम्पराकारुपमा लिने गरेका छन् । मानव संस्कृतिको प्रथम चरण अर्थात् ढुंगे युगदेखिकै परम्पराका रुपमा दशैलाई सस्कृति विद्हरुले व्यख्या गरेका छन् ।

दशैमा परिवार र आफन्त जम्मा हुने मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, आ–आफ्ना देवी–देवताको पूजा गर्दै ठूलाबडासँग आशीर्वाद लिने र सानालाई आशिष दिने चलन छ । हाम्रोजस्तो बहुजाति, बहुभाषिक र बहुसांस्कृति समाजमा विभिन्न भेगमा बसोवास गर्ने विभिन्न जातजाति तथा सांस्कृतिक समुदायले दशै पर्वलाई आ–आफ्नो सांस्कृतिक परम्पराअनुसार मनाउने गरेका छन् ।

सस्कृतिका ज्ञाता एवं सस्कृति विश्वविद्यालयका प्राध्यापक जगतप्रसाद उपाध्याय दशै सनातनीहरुको मात्रै नभइ विश्वभरी छरिएर रहेका सबै नेपालीको साझा चाड भएको बताउँछन् । शरद ऋतुमा पर्ने उल्लासमय पर्व दशै आउँदा झरीको याम सकिएर किसानका खेतबारीमा धानका बालाहरु लहलह देखिन्छन् ।

असारमा खेतबारीमा पोखिएको पसिना अन्नबालीमा परिणत भएपछि किसानले खुसी हुँदै दशै मनाउँछन् । त्यसो त दशैमा शीरमा सिउरिने जमरा कृषि वैज्ञानिक पद्धतिको प्रचलन भएको मानिन्छ । संस्कृत विश्वविद्यालयका प्राध्यापक उपाध्यायले दशै पर्वले कृषि जीवनसँगको सम्बन्ध प्रगाढ बनाउने बताए । प्राध्यापक उपाध्याय जमरा राख्नु माटो परिक्षण र खेतिपाती फलेर किसानलाई खुसी दिनुले दशैको सम्बन्ध कृषि र प्रकृतिसँग नजिक रहेको बताउँछन् ।

दशैमा घरदेशदेखि परदेशसम्म पुगेका आफन्तहरु फर्केर आँउछन् । वर्षभरी जो जहाँ पुगेको भए पनि दशैमा सबै एकै ठाउँमा बसेर रमाइलो गरेर दशै मनाउँदा पारिवारिक सम्बन्धहरु थप बलिया हुन्छन् । हुन त दशै जस्ता चाडपर्वहरुमा केही अन्धविश्वास र गलत प्रचलनहरुको पनि अभ्यास हुने गरेको पाइन्छ ।

प्राध्यापन गर्दै आउनुभएका डा. विनोद मञ्जन चाहिँ दशैका नराम्रा प्रचलनलाई छाडेर दशैलाई समाजलाई एकअपसमा जोड्ने सांस्कृतिक र सामाजिक पर्वका रुपमा मनाउन सुझाव दिन्छ् ।

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दङ्ग
सबैको देखिँदै आयो
उज्यालो चेहरा रङ्ग..।
कवि शिरोमणी लेखनाथ पौड्यालको कविताले भने जस्तै सांस्कृतिक र सामाजिक महत्व बोकेको दशै पर्व आनन्द लिएर पिङमा मच्चिदै उज्यालो चेहराका साथ हर्ष उल्लासले मनाऔ । बडा दशैको उपलक्ष्यमा मंगलमय शुभकामना । रासस

Translate »