२०८३ साउन १२ , मंगलबार
Sky News Nepal
July 28, 2026

‘कर्णाली कोरिडोरमा सडक बने सुदूरपश्चिम र कर्णालीमा समृद्धि’



टीकापुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले कर्णाली कोरिडोर दुई लाइनको डेडिकेडेट सडक भए सुदूरपश्चिम र कर्णालीको विकासमा समृद्धि आउने बताएका छन् ।

आज टीकापुर महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खडकाले सुदूरपश्चिम र कर्णाली प्रदेशको संस्कृति, भूगोल जस्तै विकास आयोजना पनि साझा भएकाले कर्णाली कोरिडोर बने दुवै प्रदेशलाई फाइदा पुग्ने बताएका हुन् ।

खडकाले साधन स्रोतको पहिचान गरी आर्थिक क्रियाकलाप बढाई समृद्ध प्रदेश बनाउनुपर्ने उल्लेख गर्दै कैलाश मानसरोवर जाने छोटो मार्ग भएकाले भारतीय पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा स्थानीयबासीले मन्त्री खडका समक्ष सुदूरपश्चिम र कर्णाली प्रदेश जोडने उत्तरतिरका सडक मार्ग खोलिनुपर्ने, सत्ती भन्सारमा क्वारेन्टाइन हुनुपर्ने, टीकापुरमा एयरपोर्ट कालोपत्रे गरी सञ्चालन गर्नुपर्ने, कर्णाली नदी किनारमा बलियो तटबन्ध, कर्णाली नदीमा बन्न लागेको पुलको काम छिटो हुनुपर्ने, टीकापुरलाई केरा पकेट क्षेत्र घोषणा गरी सरकारी लगानी बढाउनुपर्ने र टीकापुर पार्कलाई राष्ट्रिय लगानी गरी सङ्ग्रहालय बनाइनुपर्ने माग राखेका छन् ।

महोत्सवमा वरिष्ठ इन्जिनियर तथा वास्तुकलाविद् शङ्करनाथ रिमाललाई सम्मान गरिएको छ । ८९ वर्षीय रिमालले ४७ वर्षअघि टीकापुर सहरको रेखाङ्कन गरेका थिए ।

टीकापुर उद्योग वाणिज्य सङ्घद्वारा २०६५ सालदेखि वर्षेनी आयोजना हुने महोत्सव यस वर्ष पनि पुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : २०८० पुस २७ गते शुक्रबार
Translate »