पत्रकार सेजुवालको ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालको अनुसन्धानमूलक पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ ।नेपाल पत्रकार महासंघको हलमा शनिबार भएको कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सो पुस्तक लोकार्पण गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सेजुवालद्वारा लिखित पुस्तक ‘प्रेस फ्रिडम’ मिडियाले प्रकाशन गरेको हो ।  पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका रहेका छन् । पुस्तकमा दैनिक पत्रिकाहरुले पहिलो पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित समाचारका त्रुटिलाई औंल्याइएको छ । पत्रिकाका पहिलो पृष्ठ कति असन्तुलित, पक्षधर र पूर्वाग्रही सामग्री प्रकाशित भए भन्ने विषयलाई पनि पुस्तकमा उल्लेख गरिएको छ ।

त्यसैगरी, सुर्खेतलाई केन्द्र बनाएर चलेको सिमाङ्कन आन्दोलनले मुलुकको राजनीतिक विभाजन ६ प्रदेशको सिमाङ्कनलाई बदलेर ७ प्रदेश बनाएको बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।  पुस्तकमा आन्दोलनको कसीमा मिडियालाई पनि प्रस्तुत गरिएको छ ।

पुस्तकको विमोचन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता सही मार्गमा हिँडे मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताए । उपप्रधानमन्त्री खड्काले फल्स फ्रन्ट पेज पुस्तकले सञ्चार क्षेत्रका लागि उपयोगी हुने उल्लेख गरे ।


पुस्तकले घटनाको विश्लेषण, व्यावसायिकरुपमा देखिएको गलत अभ्यासबाट सच्चिएर जिम्मेवार पत्रकारिताको विकास गर्न सघाउ पुग्ने बताए ।  पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले पत्रकारिता आवाजविहीनको आवाज एवं समाजको ऐना भएकाले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए । वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको जनाए ।

महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए । नेपाल पत्रकार महांघका पूर्व अध्यक्ष धमेन्द्र झाले पत्रकारका लागि पुस्तक उपयोग हुने बताए  । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समय खोज पत्रकारिता संकटमा परेको बताउँदै पत्रकारले खोज तथा अनुसन्धान कार्य गर्नु सकारात्मक भएको जनाए ।

Translate »