२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने



सुर्खेत । नेपालका मौलिक बाजा भेषभुषा सामग्रीसहितको ‘कर्णाली सांस्कृतिक संग्रहालय निर्माण गरिने भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालित ‘प्रथम कर्णाली सांस्कृतिक सम्मेलन’ ले चार बुँदे घोषणापत्र जारी गर्दै कर्णालीमा सांस्कृतिक संग्रहालय निर्माण गर्ने घोषण गरेको हो ।

सम्मेलनले विशेषगरी कर्णाली क्षेत्रकै विषयवस्तु बनाएर लेखिएका पुस्तक संकलन, स्थानीय मौलिक पाठ्यक्रम तयार गर्न सम्बन्धित जिल्ला शाखाले आफ्ना जिल्लाका स्थानीय तहसँग अन्तरक्रिया छलफल र समन्वय गरिने घोषण पत्रमा उल्लेख गरिएको छ ।

सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले कर्णाली प्रज्ञा प्रतिष्ठान निर्माणका लागि निरन्तर पहल, बहस, पैरवी गर्दै कर्णाली सभ्यता, संस्कृति, धर्म, भाषा र कलाको विकास तथा संरक्षणमा जोड दिईएको छ ।

कर्णाली सांस्कृतिक महत्वको विषयमा पहिलो चरणमा सांस्कृतिक विज्ञ, सामाजिक संघ÷संस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम गरिने बताईएको छ ।

सम्मेलनमा कर्णालीका ८ वटा जिल्लाबाट सहभागी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रीता थापा, उपाध्यक्ष कृष्ण रेउले, सचिव उत्तम शर्मा, केन्द्रीय सदस्य राजु केसी, खड्क चन्दले प्रशिक्षण दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा दुई दिनसम्म चलेको सम्मेलनले ४ बुँदे घोषणा पत्र पारित गरी सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतबार
Translate »