सुर्खेतमा नेपाली सेनाको सैन्य तालिम सम्पन्न

वीरेन्द्रनगर । सुर्खेत स्थित नेपाली सेनाको श्री कालिबहादुर गणले सञ्चालन गरेको सिरियल संख्या ३६ सैन्य आधार तालिमको ‘अन्तिम दलेल कवाज’ बुधबार समापन भएको छ ।

२०८० भदौ ३ गतेदेखि शुरु भएको सैन्य आधार तालिम बुधबार वीरेन्द्रनगरमा विविध कार्यक्रम तथा प्रर्दशनीको आयोजना गरी सम्पन्न भएको हो ।

तालिम समापनका अवसरमा सैन्य जवानहरूले अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै १ सय ६ जना जना सैन्यहरू दीक्षित भएको कालिबहादुर गणका गणपति (प्रमुख सेनानी) शैलेन्द्र सिलवालले जानकारी दिए ।

उत्तरपश्चिम पृतना हेडक्वारका पृतनापति (उपरथी)  कृष्णदेव भट्टले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए । सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै उपरथी भट्टले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका सबैलाई बधाई दिँदै शुभकामना दिए ।

‘सेना बलियो भए मात्र देश बलियो हुन्छ । सिपाहीको कर्तव्य, जिम्मेवारी एवम् दायित्वलाई निर्वाह गर्नु पर्छ,’ उनले भने, ‘जस्तोसुकै विषम् परिस्थितिमा पनि देश र जनताको सेवामा हरदम कटिबद्ध रहनु होला ।’

उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए ।

कपासे व्यारेकमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारजन लगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको कालिबहादुर गणका (सेनानी) मेजर प्रकाशकुमार गिरीले जानकारी दिए ।

 

Translate »