सुर्खेतका १६ वर्षिय युवा आदित्यले नेपाल प्रिमियर लिग ‘कर्णाली याक्स’ को लोगो बनाए
सुर्खेत । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज कर्णाली याक्सका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर स्थित ईत्रामका आदित्यकृष्ण चपाईले पेन्टिङ्गबाट लोगो बनाएका छन ।
सुर्खेतको वीरेन्द्रनगर–७, का १६ वर्षिय चपाईले शुक्रवार आफ्नो कर्णाली प्रदेश प्रतिको भावनात्मक संदेश दिने गरी कर्णाली याक्सको लोगो बनाएर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । नयाँ पुस्ताको जोस र जाँगर आउने गरी उनले अत्यन्त सुन्दर तरिकाले कर्णाली याक्सको लोगो कोरेर जो कोही बाट चर्चा बटुलेका छन् ।
लोगोले कर्णाली याक्सको यात्रालाई थप रोमान्चक बनाउने आशा अपेक्षा गरिएको छ । हाल काठमाडौंको एउटा विद्यालयमा कक्षा ११ मा अध्ययनरत चपाईले ‘हाम्रा कर्णालीका याकहरू नेपाल प्रिमियर लिगमा खेल्दा हर्षोल्लासका साथ हरेक खेलमा कर्णालीको शक्ति र गौरवको प्रतिनिधित्व गरुनु भन्ने उद्देश्यले चित्र कोरिएको स्काई न्यूजलाई बताए ।
‘मलाई सानैदेखि चित्रकलामा रुचि थियो । यो वर्ष हाम्रो नेपालले पनि भारत जस्तै क्रिकेट लिगको आयोजना गरेको छ । यो हाम्रो गौरवको क्षण हो,’ उनले भने, ‘हामीले हाम्रो टोलीलाई समर्थन गर्नुपर्छ । यसलाई राम्रोसँग व्यवस्थित गर्नुपर्छ । यो हाम्रो लागि सुन्दर अवसर हो । यो सिजनमा हाम्रो टीमले राम्रो प्रदर्शन गर्न सक्नुपर्छ । पहिलो छाप अन्तिम छाप पनि हुनु पर्छ ।’
उनले आफु कर्णाली याक्सको समर्थक मात्र होइन, मेरो जन्मभूमि नै कर्णाली भएकाले औधी माया लागेर चित्र कोरेको जनाए । उनका अनुसार कर्णालीको सुन्दरता रारा ताल, शे फोक्सुण्डो ताल, सुर्खेतको काँक्रेविहार जस्ता थुप्रै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रले भरिएको छ ।
कर्णाली बासीको नाताले म कर्णाली याक्सको लोगो रंगा¥याउनुका साथै आउँदो सिजनमा कर्णाली याक्सलाई समर्थन गर्दै कर्णाली याक्सले एनपीएल पहिलो सिजनको विजेताको उपाधि जित्नेमा आफु विश्वस्त रहेको बताए । ‘पक्कै पनी कर्णाली याक्सले मैदानमा हाम्रा आशा र सपना बोकेर यस सिजनमा पहिले भन्दा झन् चर्को हर्षोल्लासका विजयी गरुन्,’ उनले भने ।