डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्लाको ठेक्का रद्द
काठमाडौं । डोल्पा जिल्लामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ ।
आंशिक जलाशय आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल निर्माणका लागि बोलपत्र पेश गरेका कम्पनीहरूको प्राविधिक प्रस्ताव अयोग्य भएपछि बोलपत्र नै रद्द गर्नुपरेको हो । कम्पनीका अनुसार आवेदन दिएका सबै कम्पनी प्राविधिक प्रस्तावमा पास नभएपछि ठेक्का रद्द गर्नु परेको बताएको छ ।
गत जेठ २० गते जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले सिभिल र हाइड्रोमेकानिकल तर्फको ठेक्का निकालेको थियो । ‘७ वटा कम्पनीले आवेदन दिएका थिए । कुनै पनि प्राविधिक रुपमा पास भएनन्, ठेक्का रद्द गर्ने निर्णय भइसकेको र ‘पुनः टेण्डर निकाल्ने कम्पनीको भनाइ छ ।
आयोजनामा हाइ हिमालयन हाइड्रो र एजीई कम्पनीको जेभी, झोङदिङ इन्टरनेशनल, पटेल इन्जिनियरिङ,लामा कन्स्ट्रक्सनलगायतले आवेदन दिएका थिए ।
नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर हुन लागेको हो । फाइनान्सियल क्लोजरका लागि बनेको सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को नेतृत्व नविल बैंकले गर्दै ४ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ ।
सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंक रहेका छन् ।
यो आयोजना निर्माणका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटी (सेयर)बाट जुटाउन लागिएको हो ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।