कोपिला मावि पर्सेनीको आय–व्यय सार्वजनिक

वीरेन्द्रनगर । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर–९, पर्सेनी स्थित कोपिला माध्यमिक विद्यालयको आय–व्यय सार्वजनिक गरिएको छ ।

विद्यालयले आर्थिक वर्ष २०८०/०८१ मा कुल एक करोड १२ लाख २५ हजार २ सय ९६ रुपैयाँको आय–व्यय गरेको सार्वजनिक गरेको हो । विद्यालयले २०८१ असार मसान्तसम्म १ करोड ३१ लाख ९९ हजार ७ सय १७ रुपैयाँको बासलात रहने प्रक्षेपण गरेको छ ।

मंगलबार विद्यालय परिसर पर्सेनीमा आयोजित सामाजिक लेखा परीक्षण समितिका संयोजक एवं शिक्षक अभिभावक संघका कार्यवाहक अध्यक्ष मिना शाहीको संयोजकत्वमा आयोजित अभिभावक भेलामा आय–व्यय सार्वजनिक गर्नुका साथै सामाजिक लेखापरीक्षण कार्य सम्पन्न गरेको विद्यालयका प्रधानाध्यापक दुर्गा शाक्यले जानकारी दिईन् ।

उनले भेलाबाट विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि ११ र १२ कक्षा सञ्चालन गर्नका लागि अभिभावकको माग आएकाले कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भेलाले गरेको बताईन् ।

उनका अनुसार भेलाले विद्यालय व्यवस्थापन समितिको पदावधी पुरा भइसकेकाले नयाँ कार्यसमिति चयनका गर्नका लागि यहीं फागुन १९ गते अभिभावक भेला बेलाउने निर्णय गरेको छ ।

उनले कोपिला माविको कक्षा १० (एसइई) परीक्षाको केन्द्र जनसेवा मावि घुस्रा विद्यार्थीका लागि अपाएक पर्न गएकाले विद्यार्थी तथा अभिभावकको माग अनुरुप अब आईन्दा शिव मावि लाटिकाईलीमा परीक्षा केन्द्र सार्न सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्णय समेत भएको जानकारी दिईन् ।

Translate »