सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति

काठमाडौं । नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउनुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सो जानकारी दिएका हुन् ।
सहमतिसँगै शिक्षकहरूले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बसेको बैठकमा सहमति जुटेको बताए ।
उनले सरकार र आन्दोलनरत शिक्षक बीच नौ बुँदामा सहमति भएको बताए । शिक्षक महासङ्घले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको थियो । उक्त आन्दोलन आजबाट स्थगन भएको र भोलि बिहीबारदेखि विद्यार्थी भर्ना र परीक्षाका कार्यक्रम सुचारु हुने उनले जनाए ।
उनले आगामी असार १५ गते विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएको जानकारी दिए ।
यस्ता छन् शिक्षकसँग सरकारका ९ बुँदे सहमति
१) शिक्षकहरुको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक राहत अस्थायी, करार, साबिक उमावि सिकाई अनुदान प्राविधिक धार विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र शो बापतको रकम सेवाबाट अलग हुँदा एकमुष्ट प्रदान गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकार बाटो तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह रोड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत अस्थायी करार साविक उमावि प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानूनबमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरुलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी, पत्रकार, कर्मचारीको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षाको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।