आजदेखि कक्षा १२ को परीक्षा

काठमाडौं । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ । जसमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहींको केन्द्रबाट परीक्षामा सहभागी हुनेछन् ।

जेठ २ सम्म सञ्चालन हुने परीक्षामा ४८ हजार २ सय ९ जना जनशक्ति खटिनेछन् । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।
कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८ सय ८८ र बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २ सय ४० परीक्षार्थी सहभागी हुँदै छन् ।