

हुम्ला । ‘साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धी’ भन्ने नाराका साथ नेपालको ६७ औं, कर्णाली प्रदेशको ८ औं साक्षर हुम्ला जिल्ला घोषणा भएको छ ।
२०७६ राष्ट्रिय मापदण्डअनुसार देशको ६७ औं साक्षर जिल्ला हुम्ला घोषणा गरिएको हो । १५ देखि ६० उमेरका नागरिकहरूको साक्षरता ९७ दशमलव ०४ प्रतिशत मापदण्ड पूरा भएपछि देशको ६७ औं र कर्णाली प्रदेशको ८ औं जिल्ला हुम्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका कार्यालय प्रमुख योगेश आले मगरले जानकारी दिए ।


सात वटै गाउँपालिका साक्षर गाउँपालिका घोषणा भएसँगै हुम्ला पनि साक्षर जिल्ला घोषणा भएको प्रमुख आले मगरले बताए । १५ वर्षमाथी जिल्लाको ३५ हजार ३ सय ५४ मध्ये ३३ हजार ९ सय ५४ जनसङ्ख्या साक्षर भएको आले मगरको भनाई छ । यद्यपि ! जिल्लामा अझै १ हजार ४ सय नागरिक निरक्षर रहेका छन् ।
कर्णालीमा हुम्लासहित ८ वटा जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन् । अब कर्णाली प्रदेशका कालिकोट, र डोल्पा साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।












