१४ बुँदे सहमति भएपछि स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

सुर्खेत । कर्णालीका स्थानीय तहमा कार्यरत कर्मचारीको दुई साता लामो आन्दोलन स्थगित भएको छ ।

प्रदेश सरकारद्वारा आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न गठित समितिसँग १४ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव (कानुन) वीरेन्द्रबहादुर केसीको संयोजकत्वमा वार्ता तथा सहजीकरण समिति, कर्णाली प्रदेशमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनहरु र स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश समिति वीचको त्रि–पक्षीय वार्ता तथा छलफलपछि सहमति जुटेको छ ।

आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका कर्मचारी आन्दोलित भएपछि चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणसँगै नियमित सेवा प्रवाहमा असर परेको थियो । यसअघि पनि यही मुद्दामा कर्मचारीहरुले एक महिने लामो आन्दोलन गरेका थिए ।

अब भने कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै थालिएको आन्दोलन स्थगित गरी कर्मचारी काममा फर्केका छन् । आन्दोलन स्थगित भएसँगै आफूहरु नियमित काममा फर्किएको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णाली प्रदेश संयोजक विक्रम शाहीले बताए ।

Translate »