प्रिन्सिपल एसोसिएसन अफ नेपाल कर्णालीको दोस्रो शिखर सम्मेलन

सुर्खेत । नेपालका सबै सामुदायिक विद्यालयको प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ (पान) कर्णाली प्रदेश समितिको दोस्रो शिखर सम्मेलन मंगलबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनमा प्रदेशका सामुदायिक विद्यालयको सर्वाङगीण विकासका तथा उन्नयनका लागि छलफल भएको थियो ।

छलफलमा कल्याणकारी कार्यक्रम मार्फत विद्यार्थी तथा कर्मचारीको स्वास्थ्य, सुरक्षालाई प्राथमिकता दिनुका साथै रोजगारीमा आधारित बजारको विकसित आवश्यकता परिपूर्ति गर्न पाठ्यक्रमको समीक्षा र नवीनतम् ज्ञान प्रविधि अंगिगार गर्नुपर्नेमा जोड दिईएको छ । विद्यालयहरु बीचको असमानता कम गर्न शैक्षिक स्रोतको समान वितरणतर्फ काम गर्नुपर्ने औल्याईएको छ ।

वार्षिक सम्मेलनले विद्यालयको वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम राख्दै विद्यार्थी, शिक्षक र प्रधानाध्यापकद्वारा उत्कृष्ट प्रदर्शनलाई मान्यता तथा पुरस्कृत गर्ने प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको छ ।  त्यस्तै उत्कृष्ट अभ्यास साझा गर्न शैक्षिक पेसेवरहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल विकास गरी विद्यालयसँगै समुदायको स्वास्थ्य तथा कल्याणलाई प्रवद्र्धन गरी सुरक्षित, हरियो र स्वच्छ विद्यालय वातावरण कायम राख्नुपर्ने औल्याईएको छ ।

कार्यक्रम प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल कर्णालीका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता र कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमाल, विशेष अतिथीहरु (पान) का केन्द्रीय सदस्य यामबहादुर श्रेष्ठ, (पान) कर्णालीका सल्लाहकार खगेन्द्र थापा र वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखाका प्रमुख वरिष्ठ उपसचिव धिरेन्द्रप्रसाद शर्मालगायतको उपस्थितिमा भएको भएको थियो ।

कर्णालीमा सञ्चालित शिक्षा सम्बन्धी कार्यक्रम तथा भावि योजनालाई पछिल्लो परिवर्तित अवस्थामा नयाँ ढंगबाट अगाडि बढाउने बारेमा विचार विमर्स गरिएको प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल कर्णालीका सभापति घिमिरेले बताए । उनले विद्यालयहरु बीच निरन्तर सिकाइ, सहकार्य, प्रभावकारी नेतृत्व, वकालत र शैक्षिक उत्कृष्टतालाई बढावा दिने उद्देश्यका साथ प्यानको लक्ष्य, उद्देश्य र योजना तथा भावि कार्यक्रमहरु बारेमा छलफल भएको जनाए ।

उनका अनुसार सामुदायिक विद्यालयहरुमा कार्यरत प्रधानाध्यापकहरुको गैरराजनीतिक र गैर नाफामुलक संस्थाको अवधारणामा दृढ रही सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकको पेसागत क्षमता अभिवृद्धि गर्दै सार्वजनिक शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने सम्मेलन मार्फत प्रतिबद्धता जाहिर गरिएको छ ।

उनले नवीनतम् शिक्षण विधिमार्फत शैक्षिक उत्कृष्टताको उच्चतम् स्तर हासिल गर्न प्रतिबद्ध रहँदै सामाजिक–आर्थिक स्थिति, लिङ्ग वा अपाङ्गता भएका सबै विद्यार्थीका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने बारेमा चर्चा गरिएको जनाए । उनका अनुसार प्रधानाध्यापक र शिक्षकको नेतृत्व तथा शैक्षिक सीप बढाउनका लागि निरन्तर पेसागत विकासलाई बढावा दिईने छ ।

कार्यक्रमको व्यवस्थापन (पान) सुर्खेतका सभापति दुर्गा शाक्यले गरेकी थिईन भने कार्यक्रम (पान) कर्णालीका महासचिव पूर्णप्रसाद पौडेलले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य (पान) कर्णालीका उपाध्यक्ष भक्तबहादुर शाहीले गरेका थिए भने माइन्युट लेखन कार्य (पान) कर्णालीका सचिव टीकाराम सुवेदीले गरेका थिए ।

Translate »