यसवर्ष करिब ६० हजार डेङ्गु सङ्क्रमित हुनसक्ने अनुमान

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ ।

यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तर्क्रिया विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए ।

कीटजन्य रोग शाखाका प्रमुख डा।गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्नका लागि चार महिना भन्दा बढी समय लामखुट्टेको लार्भा र फूल समेतलाई नष्ट गर्ने अभियान चलाउनुपर्ने जानकारी दिए । ‘झुल, धूप वा लामखुट्टे भगाउने अन्य औषधिले घरभित्र काम गरे पनि घर बाहिर निस्केको बेला भाइरसयुक्त लामुखेट्टले टोकेर सारिदिन सक्छ । त्यसैले स्थानीय पालिकाहरूको समन्वयमा त्यस्ता लामखुट्टेको फुलसहित सबै चक्र नष्ट गरिदिनुपर्छ’, उनको भनाइ थियो ।

यद्यपि नगर पालिकाको स्वास्थ्यसम्बन्धी कर्मचारीको धेरै थरी काम हुने हुँदा लगातार चार महिनासम्म नष्ट गर्ने काममा लागि रहन उनीहरुलाई अप्ठ्यारो भएको पनि उनले बताए । महाशाखाले १७ जिल्लाका एक सय ४७ पालिकासँग डङ्गु रोगबारे सहकार्य गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । ‘डेङ्गुरोगलाई स्वास्थ्य क्षेत्रको प्रयास मात्रै ले नियन्त्रण गर्न सकिँदैन त्यसका लागि सबै निकायले हातेमालो गर्नु पर्छ’, महाशाखा निर्देशक डा चन्द्रभाल झाले भने । कतिपय देशमा लामखुट्टे नियन्त्रण वातावरण मन्त्रालयले जिम्मा लिएर गरेको पनि देखिएको समेत उनले बताए । शहरमा वर्षायाम सँगै जता ततै खाडल, ससाना भाँडा र जथाभाबी फालिएका टायर पानी जम्ने भएकोले डेंगुको जोखिम अनुमान गरे भन्दा बढने पनि निर्देशक झाले बताए । उनले भने ,‘त्यसबाहेक घर घरमा फ्रिज र एसिको पानीले पनि लामखुटेलाई फुल पार्न र बच्चा हुर्कन सजिलो भएको छ ।’

यसवर्ष सरकारले लामखुट्टे खोजी र नष्ट गर्ने कार्यका लागि आगामी आर्थिक वर्षका लागि रु १० करोड छुट्टाएको जानकारी पनि कार्यक्रममा दिइयो । एडिस जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने यो रोग, सामान्यतया शीतोष्ण र समशीतोष्ण क्षेत्रमा फैलिने गरेको छ ।

यद्यपि जलवायु परिवर्तनको प्रभावस्वरुप गएको दशकयता मुलुकका पहाडी भूभागमा समेत विस्तार भएको छ । डेङ्गुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे सङ्क्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ । यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ ।

डङ्गु रोग लाग्दा उच्च ज्वरो, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने र मांसपेशीको समेत दुखाइ अत्यन्त पीडादायी हुन्छ । साथै केहीलाई वाकवाक लाग्ने र वान्ता हुने समेत हुन्छ । सरकारले डेङ्गुसँगै कोभिड र हैजाको जोखिम नफैलियोस् भनेर विशेष तयारी गरेको जानकारी पनि उनले दिए । रासस

Translate »