कर्णाली विकास बैंक घोटालामा मुछिएका राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ

काठमाडौं । कर्णाली विकास बैंकमा भएको घोटालामा संलग्न रहेको आशंकामा नेपाल राष्ट्र बैंकका एक पूर्वकर्मचारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले राष्ट्र बैंकमा कार्यरत रहँदा कर्णाली विकास बैंकको निरीक्षणका लागि खटिएका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतको पनि घोटालामा मिलेमतो रहेको संकेत देखिएपछि अदालतको आदेशमा काठमाडौंबाट पक्राउ गरेको हो ।

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए ।

आर्थिक अनियमिततामा नियामक निकायकै पूर्वकर्मचारी पक्राउ पर्नुले नियामक निकायमाथि पनि प्रश्न उब्जाएको छ । राष्ट्र बैंकका अर्का एक पूर्वकर्मचारीले नियामक निकायको निरीक्षण र सुपरीवेक्षण अझै बलियो बनाउनुपर्ने आवश्यकता रहे पनि आफूले कर्णाली विकास बैंकको बारेमा प्रतिक्रिया नदिने बताए ।

यस घोटालामा यसअघि कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई भारतबाट पक्राउ गरी नेपाल ल्याईएको थियो। त्यस्तै, बैंकका अर्का पूर्वअध्यक्ष पशुपतिदयाल मिश्रलाई पक्राउ गरिएको थियो । हालसम्म ४ जना पूर्वसञ्चालकलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक खडकाले बताए ।

यता राष्ट्र बैंकको छानबिनमा समेत बैंकको कुल निक्षेपमध्ये १ अर्ब ३३ करोड रुपैयाँ हिनामिना भएको पाइएको छ । यस्तै बैंकको कुल कर्जाको आधा सञ्चालकले आफ्ना कम्पनी वा नातेदारलाई दिएर पनि दुरुपयोग गरेको भेटिएको छ ।

Translate »