२०८३ साउन २७ , बुधबार
Sky News Nepal
August 12, 2026

निजी जग्गाको मुआब्जा नपाएपछि पक्की पुल सञ्चालनमा अवरोध



मुगु । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–८ मा निर्माण सम्पन्न भएको पक्की पुल सञ्चालनमा आएको छैन् । कारण हो—जग्गाधनीले मुआब्जा नपाउनु ।

अल्कासाँघुस्थित गमगाढ खोलामाथि बनेको यो पुल स्थानीय धनबहादुर मल्लको ५८८.७५ वर्ग मिटर खेतीयोग्य जमिन प्रयोग गरेर बनाइएको हो । निर्माण सुरु हुँदा खेरी नगरपालिका र जग्गाधनीबीच मुआब्जा दिने सहमति भएको थियो । तर निर्माण सकिएपछि पनि मुआब्जा नपाएपछि मल्लले पुल सञ्चालनमा अवरोध गरेका हुन् ।

नगर प्रमुख बिष्णुकुमार भामले जग्गा विवादका कारण जोखिमपूर्ण ठाउँमा पुन नबन्ने देखेपछि दुवै पक्षसँग आवश्यक सहजीकरण गरी जग्गाधनीलाई नगरपालिकाले आवश्यक क्षतिपूर्ति दिने सहमति गरेपछि पुल निर्माण प्रक्रिया अघि बढेको थियो ।

पुल निर्माण भएको करिब छ महिना बितिसक्दा पनि जग्गाधनी मल्लले क्षतिपूर्ति बापत मुआब्जा नपाए पछि मोटरेबल पुल प्रयोगमा आउन नसकेको हो ।नगरपालिका र मल्लबीच २०८० मङ्सिर ५ र २०८१ वैशाख ३ गते दुई पटक सहमति भएको थियो ।

सोही आधारमा सडक डिभिजन कार्यालय जुम्लाको ठेक्कामा हिम सगरमाथा कन्स्ट्रक्सनले रु ८ करोडको लागतमा ४० मिटर लम्बाई रहेको पुल बनाएको हो । जग्गाधनी मल्लले भने, ‘सम्झौतामा हस्ताक्षर गर्न नगरपालिकाले दबाब दियो, मुआब्जा दिने बेला भने बेवास्ता गर्‍यो । अब मेरो जमिन प्रयोग गरेर खेतीपाती गर्छु । मुआब्जा नपाएसम्म पुल चल्न दिन्न ।’

नगरप्रमुख विष्णुकुमार भामका अनुसार सडक विभागले पुल र सडकजस्ता संरचनामा प्रयोग हुने निजी जग्गाको मुआब्जा दिने नीति नराखेकोले समस्या भएको हो । ‘हामीले विपद् व्यवस्थापन कोषबाट राहत स्वरूप रकम उपलब्ध गराएर समस्या समाधान गर्ने तयारीमा छौं,’ उनले भने ।

पुल सञ्चालनमा नआउँदा गमगढी बजार हुँदै मुगुमकार्मारोङ्ग गाउँपालिकातर्फ जाने यात्रुहरू मर्कामा परेका छन् । छायाक्षेत्रधाममा साउन महिना सुरु भएसँगै भक्तजनको घुइँचो लाग्ने गरेको छ । तर पुल बन्द हुँदा भक्तजनलाई कम्तीमा १७ किलोमिटर बाटो पैदलै हिँड्नुपरेको छ ।

गत वर्ष यसै स्थानमा काठको लाप्कोबाट खोला तर्दै गर्दा ८ जना यात्रु खोस्रिएर बचेका थिए । त्यसपछि दबाबकै कारण तत्कालीन ठेकेदारले पुल बनाएको हो ।

उक्त पुलले नेपाल९चीनको नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडकलाई जोड्ने योजना छ । हालसम्म गमगढी बाट मुगुम् कार्मारोङको छाईल सम्म १७ किलोमिटर मात्र ट्याक खोलिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार
Translate »