फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–५, ताल्चामा दुई दाजुभाइ मिलेर पहिलो पटक फुजी जातको स्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन् । स्थानीय हरीबहादुर रोकाया र रामभक्त रोकाया दुई दाजुभाइ मिलेर करिब एक हल क्षेत्रफल क्षेत्रफल जग्गामा फुजी जातको स्याउ को व्यावसायिक उत्पादन सुरु गरेका हुन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण इकाई कार्यालय मुगु (सिमीजोन) ले रोकाया लगायत ४ जना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा फुजी स्याउका बिरुवा गत वर्ष वितरण गरेपछि उनीहरुले फुजी स्याउको उत्पादन सुरु गरेका हुन् ।

रोकायाले छायाँनाथ रारा नगरपालिका वडा नं ५ ताल्चमा र वडा नं ४ का मनबहादुर भाम,वडा नं ५ का प्रदीप रावल र वडा नं ५ का जस बुढाले मुसेचौर मैतु र सुपमा उन्नत प्रजातको बिरुवा रोपेका थिए । हाल स्याउका बिरुवा राम्रोसँग हुर्किँदै गएको र यस वर्ष देखि फल दिन थालेको कृषक हरिबहादुर रोकायाले जानकारी दिए ।

कृषक रोकायाले ४ सय फुजी स्याउका बोट लगाएका छन् । फुजी स्याउ अत्यन्तै स्वादिलो र छिटो फल्ने र अन्य जातका स्याउहरू भन्दा महँगो पर्ने भएको भएकाले आफूहरू यस जातको स्याउ उत्पादनमा लागेको कृषकहरूको भनाई छ ।

‘जिल्लामा धेरैजसो पुरानै जातका स्याउ उत्पादन हुँदै आएको थियो, तर बजारमा फुजी जातको माग धेरै भएकाले जोखिम उठाएर व्यावसायिक खेती सुरु गरेका हौं ’, ‘कृषक हरीबहादुर रोकायाले जानकारी दिए । यसअघि कर्णाली प्रदेशका केही जिल्लामा परीक्षणका रूपमा फुजी जातको स्याउ लगाइएको भए पनि मुगुमा भने यो पहिलो पटक हो। फुजी जातका स्याउ स्वादिलो, टिकाउ, र बजारमुखी मानिन्छ।

स्थानीय तह तथा कृषि कार्यालयले प्राविधिक सहायता तथा अनुदानको व्यवस्था गर्न सकेमा यस क्षेत्रलाई फुजी स्याउको उत्पादन केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावना स्थानीयले देखेका छन् । ‘व्यावसायिक कृषि र स्याउको सुधारिएको जातमा लगानी बढाउन सकेमा युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,’ रामभक्त रोकायाको भनाइ छ।

मुगुजस्तो उच्च हिमाली जिल्लामा जलवायु र माटो फुजी स्याउका लागि उपयुक्त मानिएको छ । कृषि विज्ञहरूका अनुसार सरकारी सहयोग र बजार सुनिश्चित भएमा मुगुमा स्याउ खेतीले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ ।

Translate »