मिचाहा वनस्पति नियन्त्रण अभियान


सल्यान । वन तथा खेतियोग्य जमिन ओगट्दै फैलिएको मिचाहा प्रजातिका वनस्पति विस्थापन एवं व्यवस्थापनका लागि अभियान सुरु गरिएको छ ।
वनस्पति अनुसन्धान केन्द्र सल्यान, जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय सल्यानको संयोजनमा जिल्लाभर फैलिएका काँडेवनमारा, कालो वनमारा, गन्धे झार, पटपटे, पाति झारसहितका दर्जनभन्दा बढी मिचाहा प्रजाति हटाउने कार्य थालिएको हो ।

वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकका अनुसार यस्ता प्रजातीले रैथाने वनस्पति विस्थापित गर्दै जैविक विविधता नष्ट गर्ने खतरा बढाएका छन् । खेतबारीदेखि घरआँगनसम्म फैलिएका मिचाहा झारले माटो, उत्पादन र पारिस्थितिक प्रणालीमा नकारात्मक असर गरेको उनले बताए ।
कपुरकोट गाउँपालिका–३ मुलपानीकी किसान मिनकुमारी बुढाथोकीले मिचाहा झारका कारण तरकारी उत्पादन घट्दै गएको र चौपायाले खाने घाँस पनि हराउँदै गएको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले चालु आर्थिक वर्षलाई ‘हरित वर्ष’ घोषणा गरी मिचाहा प्रजातिको स्थानमा बहुउपयोगी वनस्पति रोप्ने योजना अघि सारिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले केही मिचाहा वनस्पति जैविक मलको रूपमा प्रयोग गर्न सकिने भएकाले व्यवस्थापन गरिने र अन्यलाई विस्थापन गरी जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने कार्य भइरहेको बताए ।

