सुर्खेतको शुभघाट स्थित देउतीबज्यै मन्दिर परिसरमा १ सय १ विरुवा रोपियो


शुभघाट । यतिबेला देश तथा विदेशमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको रमझम चरम उत्सर्गमा पुगेको छ । तीजको अवसर पारेर कसैलाई दर खान र ख्वाउन भ्याईन नभ्याई भाको छ, कोही नाचगानमा जुटेका छन् भने कोही परम्परागत मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् ।
तर, डिभिजन वन कार्यालय सुर्खेत भने गुर्भाकोट नगरपालिकासँगको सहकार्यमा वृक्षारोपण अभियानमा जुटेको छ । आज वन कार्यालयले हरितालिका तीजको अवसर पारेर गुर्भाकोट नगरपालिका–१२, शुभघाट स्थित देउतीबज्यै मन्दिर परिसरमा धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका १ सय ११ वटा विरुवा रोपण गरेको हो ।

नीम, बेल, समी, बिजयसाल, कपुर, धुपी, गोल्डमोहर, वीरेन्द्रफुल, कल्किफुल लगायतका धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका विरुवा रोपण गरिएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले वृक्षारोपण कार्यमा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन, नगर उपप्रमुख मैना विक, गुर्भाकोट–१२, नम्वरका वडाध्यक्ष तुलसी शर्मा र मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय बासिन्दा र वन कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको बताए ।

उनका अनुसार वन कार्यालयले अहिलेपनि आवश्यकता र मागमा आधारित वृक्षारोपण अभियानलाई निरन्तरता दिईरहेको छ । वन कार्यालयले हालसम्म गोडमेल र संरक्षणको सुनिश्चितता सहित वृक्षारोपण अभियानमा ३० हजार बढी धार्मिक तथा सौन्दर्यमूलक प्रजातिका विरुवा रोपिएको उनको भनाइ छ ।


