२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 6, 2026

कर्णालीमा नौ हजार बढी नागरिक मोतियाबिन्दु रोगको उपचार पहुँच बाहिर



सुर्खेत । कर्णालीमा वार्षिक नौ हजार बढी नागरिक मोतियाबिन्दु रोगको उपचार पहुँच बाहिर रहेको पाईएको छ । सुर्खेत आँखा अस्पतालका अनुसार आँखा संवेदनशील अङ्ग भएपनि भौगोलिक विकटता, साक्षरताको कमी र गरीबीका कारण अझैपनि कर्णालीका नागरिक उपचार पहुँच बाहिर रहेका छन् ।

कर्णालीका कतिपय जिल्लामा स्तरीय आँखा उपचार केन्द्र नहुँदा दूरदराजका नागरिक अझैपनि आँखाको समस्यालाई स्वास्थ्य समस्या मान्दैनन् । झण्डै १५ हजार कर्णालीका नागरिकमा न्यून दृष्टियुक्त समस्या रहेको छ । कर्णाली प्रदेशको एक मात्र सुविधासम्पन्न सुर्खेत आँखा अस्पतालले वार्षिक एक लाख भन्दा बढी नागरिकलाई बहिरंङ्ग सेवा दिँदै आएको जनाएको छ ।

अस्पतालले शनिबार वीरेन्द्रनगरमा सम्पन्न गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा गोष्ठीमा एक लाख भन्दा बढी नागरिकलाई वर्षेनी आँखासम्बन्धी समस्याको निदानका साथै परामर्श दिने गरेको जानकारी दिएको हो ।

अस्पताल अन्तर्गत रहेका विभिन्न पालिकासँगको सहकार्यमा सञ्चालित १० वटा आँखा उपचार केन्द्रबाट पछिल्लो समय प्रभावकारी सेवा प्रवाह भईरहेको अस्पतालको भनाइ छ । गोष्ठीमा अस्पतालका मेडिकल डाइरेक्टर डा. आकांक्षा रानाले अस्पतालमा मात्र वार्षिक ४ हजार भन्दा बढी नागरिकलाई मोतियाबिन्दु शल्यक्रिया सेवा उपलब्ध गराईएको जानकारी दिइन् ।

उनले गएको आर्थिक वर्षमा अस्पतालबाट ७० हजार, विभिन्न शिविरहरु मार्फत २७ हजार र दश वटा आँखा उपचार केन्द्रबाट २२ हजारलाई सेवा प्रवाह गरिएको बताईन् । उनका अनसार आँखा उपचारमा पहुँच बाहिर रहेका प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकलाई समेत अस्पतालले सहजै गुणस्तरीय सेवा दिँदै आएको छ ।

कर्णालीका दश वटै जिल्लाहरुमा स्थानीय तथा प्रदेश सरकारको सहयोगमा अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा घुम्ति शिविर मार्फत नागरिकलाई सहज उपचारमा पहुँच पु¥याई रहेको उनको भनाइ छ । अस्पतालले हालसम्म झण्डै एक हजार बढीको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । डाक्टर रानाले आँखामा समस्या हुँदा मात्र होइन, आँखा स्वस्थ हुँदा पनि कम्तीमा वर्षको एकपटक विशेषज्ञ चिकित्ससँग जाँच गराउन जरुरी रहेको बताईन् ।

कार्यक्रममा सुर्खेत आँखा अस्पताल सञ्चालन समितिका पदाधिकारीहरु, कर्णाली प्रदेश रेडक्रस सोसाईटीका अध्यक्ष लिलाराम सुवेदी, सुर्खेतका अध्यक्ष रामलाल आचार्य, सुर्खेत आँखा अस्पतालका कर्मचारीसँगै प्रदेशका १० वटा उपचार केन्द्रका ईन्चार्जहरु, स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता रहेको अस्पतालका प्रबन्धक घनबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भदौ १५ गते आइतबार
Translate »