मुगुको महाकाली माविमा सिभिल इन्जिनियरिङको पठनपाठन सुरु


कविराज कार्की/मुगु । जिल्लाको सदरमुकाम गमगढी स्थित श्री महाकाली नमूना माध्यामिक विद्यालयमा सिभिल इन्जिनियरिङ विषयको पठनपाठन सुरु भएको छ ।
जिल्लाकै जेठो र नमुना घोषित महाकाली माविमा प्राविधिक धारतर्फ ९ देखि १२ कक्षासम्म छायानाथ रारा नगरपालिकाको आर्थिकसहयोगमा सिभिल इन्जिनियरिङ विषयको पठनपाठन सुरु गरिएको हो । यसअघिका वर्षहरुमा मुगु जस्तो अत्यन्तै विकट जिल्लाबाट सीमित विद्यार्थीहरु मात्र जिल्ला बाहिर गएर प्राविधिक शिक्षा अध्ययन गर्ने गरे पनि निम्न आयश्रोत भएकाहरुले प्राविधिक शिक्षा अध्ययन गर्न बाट बन्चित हुदै आएका थिए ।
नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले औपचारिक कार्यक्रमका वीच सिभिल इन्जिनियरिङ धारको पठनपाठन कार्यको उद्घाटन गरेका छन् । अब स्थानीय युवाले जिल्लामै प्राविधिक शिक्षा हासिल गर्न पाउने भएका छन् । कक्षा ९ बाट सुरु गरिएको सिभिल इञ्जिनियरिङ अध्ययनका लागि पहिलो पटक ५५ जना विद्यार्थीले भर्ना लिएका छन् ।


आइतबार आयोजित विशेष कार्यक्रममा वन तथा वातावरण मन्त्री शाहीले प्राविधिक धार कक्षा ९–१२ सम्म सिभिल इन्जिनियर शिक्षाको पठनपाठन हुने भए पछि मुगुका सामान्य आय श्रोत भएका युवाहरुले समेत प्राविधिक शिक्षा अब आफ्नै जिल्लामा हासिल गर्न पाउने अवसर जुरेको जनाए ।
उनले शिक्षा ऐन निर्माणको कार्य अन्तिम चरणमा पुगेकाले चाडै शिक्षक र विद्यालयका समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘बढ्दो जलवायु परिवर्तनले वातावरणमा परेको नकारात्मक प्रभावलाई कम गर्न विद्यालय तहबाटै यसबारे सम्वेदनशील हुनु पर्छ,’ वन मन्त्री शाहीले भने, ‘जलवायु अनुकुलन व्यवहार अपनाउने विषयका पठनपाठन गराउन आवश्यक भईसकेको सकेको छ ।’
सोहि कार्यक्रममा कर्णाली प्रदेश सभासदस्य मंगलबहादुर शाही र जिल्ला समन्वय प्रमुख मञ्जनबहादुर कार्कीले युवाहरुले जिल्लामै प्राविधिक शिक्षा हाँसिल गरे भने परिवारसँगै बसेर गाँउकै सडक, पुल जस्ता भौतिक पूर्वाधारमा रोजगारीका अवसर पाउने बताए । प्राविधिक धारको शिक्षाले विदेश पलाएन हुनेको संख्यामा समेत कमि आउने उनीहरुले विश्वास व्यक्त गरे ।
जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङ विषय पढाइ सुरु हुनु नगरकै लागि गर्वको कुरा भएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । उनले पहिलो वर्ष ३० लाख बजेट व्यवस्थापन गरेको र आवश्यकता अनुसार क्रमस बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा जिल्ला स्थित अन्य पालिका, विभिन्न कार्यालय, संघ संस्था र राजनीतिक दलहरुका विशिष्ट व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


