रेडक्रसद्वारा कर्णालीमा जेन–जी आन्दोलनको दौरान ९१ जना घाइतेको प्राथमिक उपचार


सुर्खेत । नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशले जेन–जी आन्दोलनको दौरान घाइते भएका ९१ जनाको प्राथमिक उपचार गरेको जनाएको छ ।
कर्णालीका विभिन्न जिल्लाहरु जेन–जीले गरेको प्रर्दशनका क्रममा आन्दोलनकारी र सुरक्षा निकाय वीच भएको झडपमा दुबै तर्फका ९१ जना घाईतेको प्राथमिक उपचार गरी अस्पताल पठाईएको रेडक्रसले जानकारी दिएको हो ।
रेडक्रसको कर्णाली प्रादेशिक कार्यालय र सुर्खेत शाखाले संयुक्तरुपमा तालिम प्राप्त प्राथमिक उपचार टोली परिचालन गर्दै घाइतेलाई उद्दार तथा जीवनरक्षक उपचार प्रदान गरेको जनाएको छ ।


सुर्खेतमा आन्दोलनका क्रममा ८६ जना घाइते मध्य २ जनालाई गोली लागेका कारण तुरुन्त अस्पताल पठाईएको रेडक्रस कर्णाली प्रादेशिक कार्यालयका टीम लिडर अविषेक ओझाले बताए । उनले मुगुमा भएको जेन–जी आन्दोलनका क्रममा ५ जना घाईतेलाई उपचार गरिएको जनाए ।
रेडक्रसका अनुसार उद्दार टोलीले लगातार झडप, सडक अवरोध र सीमित स्रोतका बाबजुद सबैलाई सुरक्षित प्राथमिक उपचार पु¥याएको दावी गरेको छ । आफ्नो तटस्थ र मानवतावादी भूमिका समेत पुष्टि गर्दै आईरहेको रेडक्रसको भनाइ छ ।
रेडक्रसको उद्दार टोलीमा टीम म्यानेजर राजकुमार क्षेत्री, टीम लिडर अविषेक ओझा, सह–टीम लिडर यज्ञ लमिछाने, केसर गौतम, चेतन सुवेदी, सम्झना खत्री, बसन्त रेग्मी, देवीसरा सरु मगर, अमूल्य वैष, प्रेम बोहोरा, आसा शाही र नेब बिष्टलगायतको सहभागिता रहेको थियो ।



