प्रदेश आयुर्वेदका पूर्व अध्यक्ष ढकालद्वारा अस्पतालको निरीक्षण तथा कर्मचारीसँग भेटघाट


सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका पूर्व अध्यक्ष विनोद ढकालले अस्पतालको निरीक्षण तथा कर्मचारीहरुसँग भेटघाट गरेका छन् ।
हाल अमेरिकामा बस्दै आएका समाजसेवी तथा पूर्व अध्यक्ष ढकालले निरीक्षणका क्रममा पछिल्लो चार वर्षमा अस्पतालको अकल्पनीय भौतिक विकाससँगै ८ गुणा बढी जनशक्ति बहाल भएकोमा गौरब लागेको जनाए । उनले कर्णाली प्रदेश सरकारद्वारा अस्पतालको भौतिक प्रगतिसँगै दक्ष जनशक्तिको विकास पु¥याएको योगदानको समेत प्रशंसा गरे ।

‘कुनैपनि संस्थाको समृद्धिका लागि भौतिक संसाधनको विकास भन्दा पहिले मानव संसाधनको विकास जरुरी हुन्छ,’ उनले भने, ‘त्यसैले जनशक्तिको विकास नभई भौतिक पूर्वाधारको विकासले मात्र फड्को मार्न सकिदैन् ।’ उनले प्रदेशको समृद्धिका लागि दक्ष कर्मचारी व्यवस्थापन महत्वपूर्ण पाटो भएको बताए ।
चार वर्षअघि आफ्नै कार्यकालमा टेण्डर भएको फार्मेसी भवन निर्माण निर्धारित समय भन्दा पहिलानै सम्पन्न भईसक्दा समेत तीन तले अस्पतालको भवन दुई वर्ष भित्र बन्नु पर्नेमा चार वर्ष वित्दा समेत नबन्नुमा ठेकेदारको चरम लापरवाही रहेको पाईएको उनको भनाइ थियो ।

उनले अस्पताल भवनको दुई तला ढलान भएपछि अधुरै छाडेर ठेकेदार सम्पर्क बिहीन हुनु भनेको कानूनी राज्यको उपहास भएको जिकिर गरे । त्यस्ता ठेकेदारलाई कानूनको कठघरामा उभ्याएर हदैसम्मको कारवाहीको भागिदार बनाउनु पर्ने उनको माग छ ।

उनले आफ्नो अध्यक्षताको व्यवस्थापकीय जिम्मेवारी छँदा स्थायी र करार गरी आठ जना कर्मचारीको दरबन्दीबाट शुरु भएको अस्पतालमा हाल विज्ञ चिकित्सकसहित ४४ जना जनशक्तिबाट विभिन्न सेवाहरु प्रवाह भएको देख्न पाउँदा अत्यन्तै खुशी लागेको स्काई न्यूजलाई जनाए ।
तर, प्रदेश सरकार गठन पछि आफ्नो अध्यक्षतामा गठन भएको ‘प्रदेश आयुर्वेद अस्पताल व्यवस्थापन समिति’ ले नियमानुसार कार्यकाल पूरा गरेपनि त्यस पश्चात हालसम्म अर्को समिति गठन हुन नसक्नु आश्चर्यको विषय लागेको उनको भनाइ थियो ।


