भेरी अस्पतालमा थप चार डायलाइसिस मेसिन सञ्चालनमा

मिर्गौला रोगीलाई राहत

बाँके। पश्चिम नेपालको प्रमुख स्वास्थ्य संस्था भेरी अस्पताल, नेपालगञ्जले मिर्गौला पीडितका लागि थप चारवटा डायलाइसिस मेसिन सञ्चालनमा ल्याएको छ। यससँगै अस्पतालमा सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीका अनुसार नयाँ मेसिनसहित अब अस्पतालमा कुल १० वटा डायलाइसिस मेसिन सञ्चालनमा छन्। पहिले ६ वटा मेसिनबाट दैनिक १८ जना बिरामीको मात्र उपचार सम्भव थियो भने अब तीन सिफ्टमा ३० जना बिरामीले सेवा लिन सक्ने भएका छन्।

डा. सुवेदीले भने, ‘पहिले बिरामीले हप्तौं पालो कुर्नुपर्थ्यो, अब थप मेसिनले उपचारमा सहजता र राहत दिएको छ। ’

डायलाइसिस विभाग प्रमुख डा. पारस श्रेष्ठका अनुसार, थपिएका मेसिनमध्ये दुईवटा हेपाटाइटिस र एचआईभी संक्रमित बिरामीका लागि छुट्याइएको छ। उनले भने, ‘संवेदनशील बिरामीका लागि छुट्टै सुविधा दिइँदा संक्रमण नियन्त्रणमा सहयोग पुगेको छ।’

अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालका अनुसार, तीनवटा नयाँ मेसिन स्वास्थ्य विभागमार्फत प्राप्त भएका हुन् भने एउटा मेसिन अस्पतालकै स्रोतबाट मर्मत गरी सञ्चालनमा ल्याइएको हो । उनले पुराना बेड र उपकरण सुधारपछि सेवाको गुणस्तरमा सुधार आएको बताए।

डा. श्रेष्ठका अनुसार, अस्पतालले डायलाइसिस वार्ड विस्तारसँगै नवजात शिशु गहन उपचार इकाई पनि व्यवस्थित गरेको छ। कोभिड महामारीका बेला प्रयोगमा रहेका पुराना वार्ड र आइसीयूलाई नयाँ भवनमा सारेर डायलाइसिस सेवा विस्तार गरिएको हो।

नेपालगञ्जसहित बाँके, बर्दिया, सुर्खेत, दाङ र कैलालीका बिरामीका लागि भेरी अस्पतालको यो विस्तार ठूलो राहतका रूपमा आएको छ। एक बिरामीले भने, ‘अब निजी अस्पताल धाउनुपर्ला जस्तो छैन, भेरीकै सेवा भरपर्दो र सहज भएको छ।’

यससँगै भेरी अस्पताल प्रदेशमै मिर्गौला उपचारका लागि सबल र विश्वसनीय केन्द्रका रूपमा स्थापित भएको छ।

Translate »