प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार, चौतारीद्वारा घटनाको निन्दा


काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङस्थित घरमा गएराति ढुंगा प्रहार भएको छ । ललमजुङको सदरमुकाम बेशीसहरस्थित पाण्डेको घरमा कात्तिक बिहीबार राति करिब १२ बजे अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरेका हुन् ।
ढुंगा प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् । अध्यक्ष पाण्डेकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको बताइएको छ। सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।
घटनापछि प्रेस चौतारीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको घोर निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संस्था प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य हो ।’

चौतारीले २४ भदौदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजनात्मक स्टाटस लेखी घरमा आक्रमण गर्न आह्वान गरिएको र त्यसको पछिल्लो कडीका रूपमा यो घटना भएको दाबी गरेको छ । महासचिव हिरामान लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘अध्यक्षलाई डर देखाएर प्रेस चौतारीका कलमजीवीहरूलाई दबाउने प्रयास सफल हुन सक्दैन ।
चौतारीले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन सम्बन्धित निकायसँग माग गरेको छ।


