पिसिएल नर्सिङलाई निरन्तरता दिने सरकारको तयारी


चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छिन् ।
भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आइतबार उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी सरकारले तयारी थालिए जनाईन् ।

उनले भनिन्, ‘ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरुलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौं ।’ अध्यादेशमार्फत एउटा बुँदा थपेर भएपनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले जानकारी दिइन् ।
अहिले मन्त्रालयले विषयगत रुपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनको भनाइ छ ।

