२०८३ असोज १९ , सोमबार
Sky News Nepal
October 5, 2026

कोहलपुरमा रहेको हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो नष्ट



नेपालगञ्ज । बाँकेको कोहलपुर–१४, मा रहेको हुलास खाद्य उद्योगमा म्याद नाघेका ९१ बोरा पिठो फेला परेपछि नियामक निकायले तत्काल नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले उद्योगभित्र ठूलो मात्रामा म्याद सकिएको पिठो भेटिएपछि नष्ट गरेको हो । उद्योगले दिएको विवरण अनुसार ती बोराहरूको मूल्य करिब २ लाख ३६ हजार ९ सय रुपैयाँ बराबर पर्छ ।

अनुगमन टोलीको उपस्थितिमै सबै बोरा नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए । उनका अनुसार पिठो उत्पादनका क्रममा अत्यधिक धुलो उड्ने, किरा पर्न सक्ने सम्भावना देखिनुजस्ता कुरामा पनि उद्योगलाई सचेत गराइएको छ।

उनले भने, ‘यस्तो अवस्था देखिएमा तुरुन्तै सम्बन्धित निकायलाई जानकारी गराउन उद्योगलाई निर्देशन दिइएको छ ।’ कार्यालयले नियमित रुपमा बजार तथा उद्योग अनुगमन जारी राखेको जानकारी दिँदै कार्यालय प्रमुख पोखरेलले विषादीयुक्त तरकारी, अखाद्य वस्तु तथा म्याद नाघेका खाद्य पदार्थबारे कडा निगरानी राखिएको बताए ।

कोहलपुर क्षेत्रका उपभोक्तामा यस्ता घटनाबाट असुरक्षित खाद्यन्न उपभोग र वितरणमा थप जागरुक हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २१ गते आइतबार
Translate »